भदौ ५, काठमाडौं । काठमाडौँको सबैभन्दा पुरानो करिब एकहजार चारसय बर्ष अघि निर्माण भएको येँगाःहिटी ढुङ्गेधारालाई पुनः प्रयोगमा ल्याउने तयारी भएको छ ।
वडा नं. २१ येँगालमा रहेको उक्त धाराको अर्थ नेपालभाषा (नेवारी) मा येँलाई काठमाडौं, गाःलाई खाल्डो र हिटी अर्थात धारा हो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको सक्रियतामा सेभ नेपाल भ्याली, स्थानीय क्लव तथा सामाजिक संस्थाले सोमबार उक्त प्रयास गरेको हो । सरसफाइ गर्नु पुग्नुभएका महानगरपालिकाकी उपप्रमुख श्रेष्ठले ऐतिहासिक सम्पदा संरक्षण गर्ने दायित्व महानगरपालिकाको रहेको बताउँदै सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । काठमाडौँलाई ब्यवस्थित सहरको रुपमा निर्माण गर्ने गुणकामदेवले उत्तरमा रहेको नयाँबजार म्हैपी मन्दिरलाई खड्गको शिर र येँगाल टोललाइ बिड्को रूपमा परिकल्पना गरेको इतिहास छ ।
महानगरलाई रक्षा गर्न सहरका कुनाकुनामा विभिन्न अष्टमातृका विराजमान गराएर पहिलोपटक ब्यवस्थित सहर उद्घाटन गरेको कुरा स्थानीय समाजसेवी सिद्धानन्द बज्राचार्यले जानकारी दिनुभयो । स्थानीय बासिन्दाको कम्पाउण्डभित्र रहेको उक्त ढुङ्गेधारालाई वि.सं. २०६४ सालमा तत्कालिन नेकपा (माओबादी) ले उत्खनन गरेर खुला गरेको थियो । स्थानीय सरकारको बेवास्ताका कारण संरक्षणको अभावमा रहेको करिब एक रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको ऐतिहासिक ढुङ्गेधारालाई संरक्षण गर्दै प्रयोगमा ल्याउने सेभ नेपाल भ्यालीका संयोजक सुरज महर्जनले जानकारी दिनुभयो ।