साृन २४, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति (आईआरडी) विषयको विभागीय संयोजकमा अर्थशास्त्रका प्रोफेसर नियुक्त गरेको विषय अहिले बहसमा छ ।
विभागको संयोजकमा साउन १ गते अर्थशास्त्रका प्रोफेसर डा. कृष्णप्रसाद आचार्य नियुक्त भएसँगै त्रिविभित्र यो चर्चाको विषय बनेको छ । एकातर्फ प्रोफेसरहरू सम्बन्धित विषयभन्दा बाहिरका व्यक्तिलाई ल्याएर विभागको संयोजक बनाउँदा विभागको गुणस्तर खस्किने भन्दै असन्तुष्ट देखिएका छन् भने अर्कातर्फ उनको नियुक्तिले गुणस्तरमा कुनै फरक नपार्ने तर्क राख्दै आएका छन् ।
को हुन् नयाँ नियुक्त भएका प्रोफेसर आचार्य ?
त्रिविको आईआर कार्यक्रम संयोजक नियुक्त भएका डा. कृष्णप्रसाद आचार्य रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गका स्थायी प्रोफेसर हुन् । डा. आचार्यको नियुक्ति अहिले पनि रत्नराज्यमा नै रहेको क्याम्पसका एक प्रशासन अधिकारीले जानकारी दिए । नेपाल संस्कृत विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका उनलाई काज सरुवामा त्रिविको आईआर संयोजकको जिम्मेवारी दिइएको हो ।
संयोजकको पद रिक्त भएपछि सो जिम्मेवारी दुई वर्षयता उप प्राध्यापक प्रेम खनालले सम्हाल्दै आएका थिए । संयोजकको कार्यकाल चार वर्षको हुन्छ ।
आईआर विभागमा किन अर्थशास्त्रका प्रोफेसर संंयोजक ?
त्रिभुवन विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर र विद्यावारिधी पीएचडी विषय अध्ययन हुन थालेको केहीवर्ष मात्रै भएको छ । आईआरले छुट्टै विभागको रूपमा नभइसकेको अवस्थामा त्रिविले यसलाई मानविकी शंकाय अन्तर्गत राखेर एउटा कार्यक्रमको रूपमा अध्यापन गराउँदै आएको छ । यस अर्थमा अहिले आईआर कार्यक्रम संयोजकको नियुक्ति पनि मानविकीकै डिन कार्यालयले गरेको हो ।
यो दुई वर्षमा आईआर विभागमा अध्यापन गराउने अधिकांश प्रोफेसरहरू देशबाहिरका विश्वविद्यालयबाट पढेर आएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियमअनुसार सेवामा रिक्त रहेका पदहरूमध्ये आन्तरिक वा खुला प्रतियोगिताद्वारा शिक्षक तथा कर्मचारीको शैक्षिक योग्यता, कार्यक्षमता, ज्येष्ठता र कार्यसम्पादन समेतको मूल्याङ्कनबाट बढुवाद्वारा पूर्ति गरिने पदहरूको प्रतिशत तोकिएबमोजिम हुनेछ ।
सम्बन्धित विषयको विभागीय प्रमुख बन्न सोही पृष्ठभूमिबाट आएका व्यक्तिलाई प्राथमिकता दिइने भएपनि आईआरको हकमा ठ्याक्कै यही विषयबाट आएका प्रोफेसरहरूको ज्येष्ठता नपुग्ने भएका कारण अर्को विषयका प्रोफेसर नियुक्त गरिएको हुनसक्ने त्रिविका रजिष्ट्रार डा। पेशल दाहाल बताउँछन् । प्राज्ञिक नियुक्ति भएकाले यसमा ज्येष्ठतालाई नै आधार मानिने उनको भनाइ छ ।
डा. आचार्यको नियुक्तिमा नयाँ र पुरानो धार
नेपालमा आईआरको अध्यापन भर्खरै सुरु भएर स्थापित हुँदै गरेको विषय भएकाले सम्बन्धित पृष्ठभूमिकै व्यक्तिहरूको संयोजकत्वमा शिक्षा गुणस्तरीय हुने एकतर्फको प्रोफेसरहरूको दाबी छ ।
प्राध्यापक डा. खड्ग केसी संयोजक बन्न योग्यता पुगेका व्यक्तिहरूलाई प्रतिस्पर्धामा नल्याई राजनीतिक आडमा अर्थशास्त्रका प्रोफेसरलाई नियुक्त गरिएको आरोप लगाउँछन् । त्रिविभित्र राजनीति हावी हुँदा शिक्षाको गुणस्तर राम्रो हुनुको साटो खस्किँदै गएको डा. केसीको बुझाइ छ ।
तर, अर्थशास्त्रका प्रोफेसर संयोजक नियुक्त हुँदैमा विरोध गर्नुपर्ने आवश्यकता नरहेको त्रिविकै अर्थशास्त्र विभागका एक प्राध्यापक बताउँछन् । “सम्बन्धित विषयकै पृष्ठभूमिका प्रोफेसर संयोजक वा डिपार्ट चिफ हुनुपर्छ भन्ने मलाई त लाग्दैन, अर्थशास्त्र पनि आईआरको एउटा पाटो नै हो । आखिर यस अर्थमा झनै क्वालिटी बढ्नुपर्ने हो,” ती प्राध्यापक भन्छन् । स्नातकोत्तरका दुईवटा सेमेस्टरमा अनिवार्य र ऐच्छिक गरी अर्थशास्त्रका दुईवटा पेपरहरू समावेश छन् ।

