केरुङ–काठमाडौं रेलमार्ग बन्ने निश्चित

भदौ ४, काठमाडौं । बहुचर्चित केरुङ–काठमाडौं रेलमार्ग बन्ने निश्चित भएको छ । नेपाल सरकारको आग्रहमा चीन सरकारको सहयोगमा गरेको अध्ययनले रेल मार्ग निर्माण गर्न सम्भावना रहेको देखाएपछि रेलमार्ग बन्ने निश्चित भएको हो । रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले चिनियाँ पक्षले चिन–नेपाल जोड्ने रेल परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेको बताए ।

चिनियाँ परामर्शदाता कम्पनीले तयार पारेको अध्ययन प्रतिवेदन माथि छलफल गर्न नेपालबाट अधिकारीहरुको एक टोली शनिबारै चिनतर्फ प्रस्थान गरिसकेका छन् । उक्त टोलीमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीको नेतृत्वमा रेल विभागका महानिर्देशक अनन्त आचार्य, मन्त्रालयका वैदेशिक महाशाखा हेर्ने सहसचिव केशवकुमार शर्मा पराराष्ट्र अर्थ मन्त्रालयका प्रतिनिधिसहित सात सदस्यीय टोली छ ।

‘चिनियाँ परामर्शदाताको प्रतिवेदनमा छलफल गर्न नेपालबाट टोली नै चिन पुगिसकेको छ ।’ सिनियर डिभिजनल इन्जिनियर उपाध्यायले भने – ‘प्रतिवेदन माथि छलफल आइतबार देखि ३ दिन सम्म चल्ने छ ।’ उनका अनुसार उक्त प्रतिवेदनमा छलफल गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को प्रक्रिया अघि बढाउने बिषयमा छलफल गर्ने नेपालको तयारी रहेको छ । उनले भने– ‘यो रिपोर्टले केरुङ–काठमाडौं रेलमार्गलाई कसरी अघि बढाउन सकिन्छ भनेर मार्ग निर्देशन गर्नेछ ।’

भदौ दोस्रो साता रिपोर्ट तयार पार्ने लक्ष्यका साथ चिनियाँ प्राविधिकहरुले अध्ययन थालेका थिए । गत बैशाख अन्तिम साता सचिव अधिकारीको संयोजकत्वमा गएको टोलीले चिनियाँ रेल्वेसँग छलफल गरेर सम्भाव्यता अध्ययन अघि बढाउने निर्णय गरेको थियो । त्यसको लगत्तै जेठ पहिलो साता चाइना फष्ट सर्भे एण्ड डिजाइन इन्ट्रच्युटलाई चीन सरकारले पठाएर सम्भाव्यता अध्ययन गराउन पठाएको थियो ।
–नेपाल समाचारपत्रबाट

Satkar Media House
Leave A Reply

Your email address will not be published.