असार २८, काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा समूहलाई गठबन्धनमा रहेका राजनीतिक दलनिकट पर्यटन व्यवसायीको सहयोग रहेको छ ।
गठबन्धनमा आवद्ध पर्यटन व्यवसायीको समूहले सोमवार एक कार्यक्रमको आयोजना गरी गठबन्धनका उम्मेदवार शर्मा समूहलाई सहयोग गरेका हुन् । नेपाली काँग्रेसनिकट निट नेपालका अध्यक्ष दिपक महतले ठमेलको समग्र विकासका लागि गठबन्धनका उम्मेदवार भविश्वर शर्मा समूहलाई विजय गराउनु आवश्यक रहेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रनिकट पर्यटन व्यवसायी संगठनका अध्यक्ष नवराज दाहालले ठमेललाई व्यवस्थित र पर्यटनमैत्री बनाउनका लागि गठबन्धन उम्मेदवारलाई विजय गराउनु आवश्यक रहेको औँल्याउनुभयो । नेकपा एकीकृत समाजवादी निकट पर्यटन संगठन नेपालका अध्यक्ष अन्जन थापा (कुमार) ले आम ठमेलबासीको पिरमर्कालाई बुझ्नसक्ने समूह भविश्वर शर्माको समूहलाई आगामी निर्वाचनमा विजय गराउनुपर्नेमा जोड दिनुभयो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्षका उम्मेदवार शर्माले ठमेलमा सिसिटिभी जडान, तारको व्यवस्थापन, शान्त र सुन्दर ठमेलका लागि आफ्नो समूहलाई विजय गराउन आम व्यवसायीलाई अपिल गर्नुभयो । विस २०४७ सालमा स्थापना भएको ठमेल विकास परिषद्को नवौँ अधिवेशन आगामी असार ३२ गते लैनचौर ब्याङ्क्वेटमा हुँदैछ । उक्त अधिवेशनमा ठमेलभित्रका एक हजार ५९९ घरधनी तथा व्यवसायीले आफ्नो मताधिकार प्रयोग गर्दै हुनुहुन्छ ।


