चौतर्फी विरोधपछि गण्डकीका मन्त्रीले गरे बाआमाको नाममा पैसा नलिने घोषणा

असार २६, पोखरा। आफ्नै बाआमाको नाममा खोलिएको ट्रष्टमा करोडौं पैसा मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्याएको विषयमा चौतर्फी विरोध भयो।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ लगायत विभिन्न पार्टीका नेताहरुले धेरै ब्यक्तिका स्मृतिमा ट्रष्ट, प्रतिष्ठान लगायत योजना बनाएर बजेट छुट्याउन लगाएका थिए। धेरै विरोधपछि सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उक्त बजेट आफूले नलिने घोषणा गरेका छन्। उनको बाबू स्व। पुननारायण श्रेष्ठ र आमा स्व। धनकुमारी श्रेष्ठको स्मृतिमा बनेको ट्रष्टका लागि २ शीर्षकबाट १ करोड छुट्याइएको थियो । ५० लाख भवन निर्माणर ५० लाख ट्रष्ट संचालनका लागि विनियोजन भएपछि समाचार आयो।

उक्त समाचार पढेर नागरिक समाज र राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुले विरोध र आलोचना गरे। मन्त्री श्रेष्ठले आइतबार विहानै फेसबुकमा स्टाटस लेख्दै उक्त बजेट नलिने घोषणा गरेका छन् । ‘मेरो राजनिति सँधै जनताको सेवाको लागि मेरो कर्म सामाज बिकासको लागि हो। गल्ती भए माफ गर्नुहोला,’ उनले भने, ‘गण्डकी प्रदेश सरकारको बजेटमा समावेश भएका विषयहरू सार्वजानिक भए लगत्तै मेरो बारेमा विभिन्न भ्रम सृजना भएकोले ट्रष्टको बजेट सँग जोडिएर टिप्पणी आएको छ। यसमा मेरो ध्यानाकर्षण भएको छ।’

उनले ट्रष्ट सामाजिक कामकै लागि विधिवत रुपमा दर्ता भएको संस्था भएकोले समाजकै काममा ट्रष्टले भुमिका निर्वाह गर्ने बताए । ‘उक्त ट्रष्ट जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको हो । जेष्ठ नागरिक सम्मान र महिला सशक्तिकरण गर्दै असाहायहरुको हितमा काम गर्ने, विद्यार्थी सहयोग, असाहाय र गरिव तथा रोग र भोकमा रहेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो,’ उनी भन्छन्, ‘यो संस्था विगत १२ वर्ष देखि सन्चालनमा छ । म गण्डकी प्रदेशको मन्त्रीको हैसियतले मेरो गृह जिल्लामा यो ट्रष्टलाई समाजमा रहेका त्यस्ता बर्गहरुको सम्बोधन गर्दा ठिक होला भन्ने ठानेर बजेटको व्यवस्था गर्न अनुरोध गरेको हुँ । तर यो टिप्पणीले मलाई गम्भीर बनाएको छ ।’

मन्त्री श्रेष्ठले उक्त शीर्षकको बजेट हटाइदिन अर्थमन्त्रीलाई आग्रह गरेका छन् । ‘आगामी वर्षको बजेटवाट उक्त शीर्षक हटाई स्रोत नराखिदिन म अर्थ मन्त्री ज्यूलाई अनुरोध गर्दछु । म सँधै जनताको पक्षमा काम गर्ने नेपाली काँग्रेसको ईमान्दार सिपाही हो,’ अघि भने, ‘मेरो वुवा आमाको नाममा रहेको ट्रष्टको उद्देश्य अनुरूप सदैव कार्य गर्ने गराउने छु । मैले अब यो शिर्षकको बजेट फिर्ता लिने प्रतिवद्धता समेत गर्दछु ।’ फिर्ता भएको बजेट असाहाय ज्येष्ठ नागरिक र महिलाहरुको हक हितमा सदुपयोग गरिदिन आग्रह गरेका छन् । यसअघि कांग्रेस नेता अर्जुन जोशीले पनि आफ्नो बाबूको नामबाट निर्माण हुन लागेको पार्कमा छुट्याएको २० लाख रुपैयाँ नलिने घोषणा गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.