भदौ ३, काठमाडौं । बलात्कारीलाई आजीवन कारावासको सजाय माग गर्दै संसदमा संशोधन प्रस्ताव दर्ता गरिएको छ । राष्ट्रियसभा सदस्यहरुले बलात्कारीलाई आजीवन कारावासको सजाय राखी संशोधनको लागि प्रस्ताव दर्ता गराएका हुन् । भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता ऐनको संशोधनमा उनीहरुले यस्तो माग गरेका हुन् ।
भदौ २३ गते सरकारले फौजदारी र देवानी संहितामा संशोधन गर्न राष्ट्रियसभामा संशोधन विधेयक दर्ता गरेको थियो । राष्ट्रियसभामा छलफलका क्रममा रहेको उक्त विधेयक अन्तर्गत बलात्कारीलाई सजाय सम्बन्धी व्यवस्थामा संशोधन माग गर्दै राष्ट्रियसभाका सांसद विमला राई पौड्याल र दिलकुमारी रावलले संशोधन प्रस्ताव पेश दर्ता गरेका हुन् ।
उनीहरुले १० वर्ष मूनीका बालिका, ७० वर्ष माथिका महिला र ‘क’ वर्गको अपाङ्गता भएका महिलालाई बलात्कार गर्ने व्यक्तिलाई आजीवन काराबासको सजायको माग राख्दै संशोधन प्रस्ताव दर्ता गराएका हुन् । भदौ १ गतेदेखि लागू भएको ऐनमा हाडनाता करणी सम्बन्धी व्यवस्थामा जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा मात्रै जन्मकैदको व्यवस्था छ ।

