अमेरिकाद्वारा बालबालिकाको प्रयोगको लागि २२ लाख कोरोना खोप नेपाललाई प्रदान

असार ५, काठमाडौं। अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न २२ लाख मात्रा कोरोना खोप प्रदान गर्ने भएको छ। यी सबै खोप बालबालिकाको प्रयोगको लागि भएको काठमाडोंस्थित अमेरिकी दूतावासले जनाएको छ।

‘५ देखि ११ वर्ष सम्मका बालबालिका लक्षित यी अत्यन्त प्रभावकारी, जीवन रक्षक खोप अमेरिकी जनताको उदारतामार्फत प्रदान गरिएका हुन् र यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल–मात्रा खोपको १५ लाख मात्रामा थपिने छन्,’ अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। अनुदानले अमेरिका र नेपालबिचको ७५ वर्ष लामो कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वासले दूतावासले लिएको छ।

‘कोभिड–१९ महामारीको सुरुवातदेखि नै यस विरुद्ध लड्न, अत्यावश्यक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न र यस महामारीका सामाजिक तथा आर्थिक प्रभावहरू – विशेषतः शिक्षा र जीविकोपार्जनमा(न्यूनीकरण गर्न नेपाललाई मद्दत गर्न अमेरिकी सरकारले नेपाल सरकारसँग प्रत्यक्ष रूपमा काम गर्दै आएको छ,’ दूतावासले भनेको छ। बाल फाइजर खोप अभियानको तयारी स्वरूप अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले उक्त खोप लगाउने विषयमा ५६ जिल्लाहरूमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण प्रदान गर्नस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहयोग गरेको थियो।

विश्वव्यापी रूपमा अमेरिकाले ११५ विकासोन्मुख देशहरूलाई १ अर्ब १० करोडभन्दा बढी कोभिड–१९ खोप अनुदान स्वरुप उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । अमेरिकाले ५० करोडभन्दा बढी मात्रा उपलब्ध गराइसकेको छ। चार अर्ब अमेरिकी डलरको योगदान गर्ने अमेरिका विश्वव्यापी खोप पहल कोभ्याक्सको सर्वाधिक ठुलो द्विपक्षीय दाता पनि हो।

‘विश्वव्यापी कोभिड–१९ प्रतिकार्यको नेतृत्व गर्न अमेरिका प्रतिबद्ध छ किनकि यो सही कार्य हो र यसले अमेरिकी र नेपाली हामी सबैलाई एकैनासले सुरक्षित बनाउने छ। यस महामारीको अन्त्य गर्न नेपालसँग सहकार्य गरेकोमा हामीलाई गर्व छ,’ दूतावासले भनेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.