युवा परिषदका जिल्ला अध्यक्षहरुलाई गोपनियताको सपथ

जेठ २७, काठमाडौँ । राष्ट्रिय युवा परिषद अन्तर्गत १३ जिल्लाका युवा समितिका अध्यक्षहरुले पद तथा गोपनियताको सपथ लिएका छन ।

गत जेठ १६ गते राष्ट्रिय युवा परिषदका अध्यक्ष समेत रहनुभएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाका अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । नियुक्त भएका युवा समितिका अध्यक्षलाई शुक्रबार युवा तथा खेलकुद मन्त्री अथकले पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो । सिंहदरबार स्थित मन्त्रालयमै आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरुलाई सपथ खुवाउँदै मन्त्री अथकले युवाहरुको पक्षमा काम गर्न निर्देशन दिनुभएको छ । ४० प्रतिशत भन्दा बढि युवाहरुको प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएकाले कुनै पनि आग्रह वा पुर्वाग्रह नराखेर युवाको पक्षमा काम गर्न मन्त्री अथकले निर्देशन दिनुभएको हो ।
युवाहरुको नेतृत्व विकासकालागि परिषदले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताउँदै मन्त्री अथकले राष्ट्र निर्माणको मुलधारमा युवाहरुलाई कसरी ल्याउन सकिन्छ भन्ने विषयलाई समेत परिषद सचेत हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत बिभिन्न कारणले खाली भएका जिल्लाहरुमा परिषद ऐनको दफा ११ को उपदफा २ (क) बमोजिम अध्यक्ष नियुक्त गरीएको हो । नियुक्त हुनेहरुमा हिक्मत बहादुर शाही (दैलेख), सुजन राइ (सोलुखुम्वु), पासाङ निमु शेर्पा (संखुवासभा), चेत प्रसाद बोलखे (रौतहट), टिका भुर्तेल (नवलपुर), सुजन लिम्बु (ताप्लेजुङ्), समिक शेरचन (मुस्ताङ), युवराज दाहाल (झापा), आविस्कार क्षेत्री, (स्याङ्जा), भक्त बहादुर थापा (बर्दिया), नवराज कार्की (मुगु), सञ्जय कुमार दास (सप्तरी) र चक्र बहादुर रावल (जुम्ला) रहनुभएको छ । नव नियुक्त अध्यक्षहरुलाई सपथ खुवाउँदै मन्त्री अथकले सफल कार्यकालको शुभकामना समेत ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत लगाएतको उपस्थिती रहेको थियो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.