सामुदायिक विद्यायलमा सिभिल इञ्जिनियरिङ पढाइ हुने

भदौ ३,  पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-५ मुझुङस्थित कालिका माविमा तीनवर्षे सिभिल इञ्जिनियरिङ पढाइ हुने भएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र (सिटिइभिटी) बाट तीनवर्षे सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमति पाएपछि पाल्पाको पश्चिम भेगमा सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन हुन लागेको हो। सिभिल इञ्जिनियरिङ पढाइका लागि सदरमुकाम तानसेन लगायतका स्थानमा जानुपर्ने विद्यार्थीको बाध्यता थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थर्कबहादुर पुनले सिभिल इञ्जिनियरिङ विषयको पढाइले धेरै विद्यार्थीले रोजगारी पाउने सम्भावना रहेकाले प्राविधिक विषयको कक्षा सञ्चालन गर्न गएको बताए। विद्यालयका प्रअ जनार्दन पाण्डेयले यस वर्ष ४८ जना विद्यार्थीलाई विद्यालयमा पढाउन सकिने गरी व्यवस्थापन गरिएको जानकारी दिए। विद्यालयले सबै तयारी पूरा गरेको प्रअ पाण्डेयको भनाइ छ।

गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले प्राविधिक शिक्षा अहिले आवश्यकता भएकाले यस विद्यालयल सिभिल इञ्जिनियरिङ पढाइ गरी दक्ष जनशक्ति उत्पादन गरी रोजगार तथा स्वरोजगार बनाउने बताए। यसै शैक्षिकसत्रदेखि पढाइ शुरु गर्ने तयारीमा विद्यालय जुटेको छ। निजी क्याम्पसमा अहिले निकै महँगो शुल्क तिरेर विद्यार्थी पढ्न बाध्य छन्। सामुदायिक विद्यालयमा सहुलियतमा पढ्न पाउने भएपछि विद्यार्थी खुशी भएका छन्।

Satkar Media House
Leave A Reply

Your email address will not be published.