नेपालगञ्जमा शालिक राख्ने विषयमा झडप

जेठ १९, नेपालगञ्ज । नेपालगञ्जस्थित धम्बोझीमा पूर्व राजा वीरेन्द्र वीरविक्रम शाहदेवको शालिक राख्न खोज्दा तनाव भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई दर्जन बढी हवाई फायरसँगै अश्रु ग्यास प्रहार गरेको छ ।

राष्ट्रबादी युवाको समूहले धम्बोझी चोकमा पूर्व राजा वीरेन्द्रको शालिक राखेपछि भएको भएको झडपका क्रममा प्रहरीले हवाई फायर सँगै अश्रु ग्यास प्रहार गरेको हो । यूवाको समूहले पूर्वराजा वीरेन्द्र शाहको वंश नाश हुने गरी भएको दरवार हत्याकाण्डकै दिन नेपालगञ्जस्थित धम्बोझी चोकमा राखेको वीरेन्द्रको शालिकलाई प्रहरीले धरपकड गरी झिकेर लगेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए ।

उनले शालिक राख्ने युवाको समूहलाई प्रहरीले लाठी बर्साउनुका साथै हवाई फायर र अश्रु ग्यास प्रहार गरी तितरवितर बनाएको बताए । ‘प्रहरीले युवामाथि लाठी बर्साएको छ । हवाई फायर र अश्रु ग्यास प्रहार गरेर अमानवीय व्यवहार गरेको छ,’ उनले भने । बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेलाई सम्पर्क गर्दा उनले दंगा भइहेकाले थप कुरा गर्ने अवस्थामा नरहेको जानकारी दिए । अहिले धम्बोझी क्षेत्र तनावग्रस्त बनेको छ । वीरेन्द्रको शालिक राख्ने समूह र प्रहरीबीच झडप जारी छ ।

यसअघि नेपालगञ्जको त्रिभुवन चोकमा पनि सोही समूहले पूर्व राजा त्रिभुवनको शालिक राखेको थियो । प्रहरी र प्रशासनले उक्त शालिक हटाउने प्रयास गरे पनि सर्वसाधारणले चर्को विरोध गरेपछि पछाडि हटेको थियो । धम्बोझी चोकलाई अहिले प्रहरीले कब्जामा लिएर आवतजावत समेत रोकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.