जेठ १७, काठमाडौं । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटको सुनुवाइ आजदेखि हुने भएको छ ।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गएको वैशाख २२ गते मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने आदेश दिएको थियोे । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशानुसार आजदेखि उक्त विवादमा अन्तिम सुनुवाइ हुन लागेको हो ।
सरकारले आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेलले नियुक्तिका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरीयताका व्यक्तिलाई नियुक्त गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रासस

