संविधान संशोधन नहुने धर्मग्रन्थ होइनः प्रधानमन्त्री ओली
"संविधान कुनै धर्मग्रन्थ होइन, आवश्यकताअनुसार संशोधन र परिमार्जन भइरहने गतिशील दस्तावेज हो।"
भदौ ३, काठमाडौं । संविधानको संशोधनको माग गर्दै आएका दलहरूको बलियो पकड रहेको प्रदेश २ को सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्न तयार रहेको बताएका छन्।
केही प्रदेश सभा सदस्यको वहिष्कारकाबीच नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शनिवार सम्बोधन गरेका हुन्।उनको भनाइ थियो, ‘संविधान कुनै धर्मग्रन्थ होइन, आवश्यकताअनुसार संशोधन र परिमार्जन भइरहने गतिशील दस्तावेज हो।’ विभेदका विरुद्ध आफूले ५० वर्ष सङ्घर्ष गरेको प्रसङ्ग उल्लेख गर्दै उनले आफू विभेदको पक्षमा कहिल्यै हुन नसक्ने बताए। उनको भनाइ थियो, ‘संविधानमा कतै विभेद छन् भने भन्नूस्, संशोधनको प्रस्ताव लैजाने संघीय सरकारको काम हो, हामी तयार छौं।’ विभेदको आवाज उठाउने तराईकेन्द्रित दलप्रति लक्षितजस्तो लाग्ने गरी उनले भने, ‘हामी विभेदको कुरा गर्छौं, तर जसले मौका पाए त्यसैले विभेद गर्छ।’
दामी जुत्ता
प्रधानमन्त्री ओलीले जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता पाउने विधेयक संसद्मा दर्ता भइसकेको र आमा वा बुवामध्ये कुनै एकजना नेपाली नागरिक भएका सन्तानले पनि सहज रुपमा नागरिकता पाउने बताए।
सङ्घीय अभ्यास नयाँ भएकाले सबै तहबीच तालमेल मिल्न केही समय लाग्ने उनको भनाइ छ।
केन्द्र सरकारप्रति प्रदेश सरकारहरूले गर्ने गरेका गुनासोलक्षित प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘नयाँ जुत्ता जति दामी र राम्रो भए पनि पुरानो जुत्ता जस्तो खुट्टामा मिलेको हुँदैन, राम्ररी मिल्न केही समय लाग्छ।’ राष्ट्रिय जनता पार्टी (राजपा) का केही सांसद्हरूले प्रधानमन्त्री ओलीको विरोध गर्दै सभा वहिष्कार गरेका थिए।– बिबिसि न्यूज