जेठ १२, काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय र अहिलेसम्म गरेका सबै निर्णय सर्वोच्चले बदर गरिदिएको छ ।
बिहीबार सरकारका नाममा आदेश जारी गर्दै सर्वोच्चले विमानस्थल चाहिने भए अर्को विकल्प खोज्न आदेश दिएको छ । सर्वोच्चको बृहत् पूर्ण इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले सरकारका सबै निर्णयहरु बदर गर्ने आदेश जारी गरेको हो । बाराको निजगढमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सरकारले अघि बढाएको थियो ।
त्यहाँ रहेका करिब २४ लाख सालका रुख कटान गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको थियो । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले रिट दायर गरेका थिए ।

