भदौ ३, नुवाकोट । बाढीपहिरोले यहाँका विभिन्न स्थानमा १० घर बगाएको छ । घर बगाउँदा लाखौँको क्षति भएको छ । जिल्लामा विभिन्न स्थानमा गएराती आएको बाढीपहिरोले घर, पशुचौपाया तथा धनमाल बगाएको प्रहरीले जनाएको छ ।
सलाखु खोलामा आएको बाढीले किस्पाङ गाउँपालिका–३ कितिली बगरका ओमबहादुर तामाङको पक्की घर र घरभित्र रहेका २० मुरी धान, लत्ताकपडा, नगद ८५ हजार क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तामाङको दुई लाख भन्दा बढीको क्षति भएको पनि प्रहरीले जनाएको छ । सोही स्थानमा धनबहादुर तामाङको घर र घरमा रहेको २० मुरी धान समेत बगाउँदा एक लाख मूल्य बराबरको क्षति भएको छ ।
सोही स्थानमा जितबहादुर तामाङको आठ रोपनी खेत, रुद्रबहादुर तामाङको तीन रोपनी, कृष्णबहादुर तामाङको तीन रोपनी, नुरबतासीबहादुर तामाङको तीन रोपनी खेत समेत खोलाले बगाएर बगर बनाएको प्रहरीले जनाएको छ । यस्तै बेलकोटगढी नपा–११ अमारेमा अमारे खोलामा आएको बाढीले हरिभक्त तिवारीको दुई घर र घरमा रहेको किराना पसल, मासुपसल समेत बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पसल सञ्चालक रामराजा तामाङ र श्रीमती शुभलक्ष्मी सामान्य घाइते भएको र बाढीको कारण आठ लाख बराबरको क्षति भएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । यसैगरी गए रातिकै पहिरोले शिवपुरी गाउँपालिका–६ थानाभञ्ज्याङका मनोज लामा र डिलबहादुर तामाङको घर पनि बगाएको छ ।
घरमा रहेको तीन बाख्रा, अन्नपात, लत्ताकपडा समेत बगाएको छ । पहिरोले दुई घर बगाउँदा छ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै तादी गाउँपालिका–६ आलडाँडाँका डोरबहादुर तामाङकोे दुई वटा र मुकेश तामाङको एउटा घर पहिरोले बगाएको छ ।
पहिरोले २५ वटा बाख्रा, गाईगोरु पनि बगाएको छ भने अन्नपात र लत्ताकपडा नष्ट भएको छ । उनीहरुको सात लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै गएराती नै विदुर नपा–२ पाटीपानीका अर्जुन कसाइका घर पनि पहिरोले बगाएको प्रहरीले जनाएको छ ।
–रासस