जेठ ६ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट

वैशाख २८, काठमाडौँ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ। कार्यालयका प्रमुख रमेश अर्यालले आँउदो जेठ ६ गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको जानकारी दिए।

कार्यालयले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र यही वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गरेसँगै कार्यालयमा दैनिक हुने हजारौको भीड हटेको छ । हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्णरूपमा अनलाइन प्रणालीबाट मात्र सेवाप्रवाह गर्ने भएको छ। आधुनिक प्रविधिको प्रयोग गरि सहज र सरल तरिकाबाट छिटो छरितोरूपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले निर्देशन गरेसँगै सबै किसिमका श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख अर्यालले बताए।

नयाँ व्यक्तिगत श्रम स्वीकृतिका लागि भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारमा जान सीप सिकेको प्रमाणपत्र, स्वघोषणा फारम, म्यादी जीवन बीमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण अनलाइनबाटै अपलोड गर्नुपर्नेछ। श्रम स्वीकृति नलिई घरेलु कामदारको हकमा विदेशमा काम गरी नेपाल आएर फेरि जान चाहेमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को अनुसूची ८ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावासको सिफारिसपत्र पनि अपलोड गर्नुपर्नेछ ।

गत आवमा वैदेशिक रोजगारीको लागि एक लाख ६७ हजारको श्रम स्वीकृति भएकामा चालु आर्थिक वर्षको १० महिनामा पाँच लाख बढीको श्रम स्वीकृति भएको कार्यालय प्रमुख अर्यालले जानकारी दिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.