खानेतेल गुणस्तरहीन, वाग्मती उद्योगको उत्पादनलाई रोक

भदौ २, विराटनगर । वाग्मती आयल इण्डष्ट्रिज मोरङ कटहरीद्वारा उत्पादित सूर्यमुखी तथा भटमासको खानेतेल गुणस्तरहीन भएको आरोपमा शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट खटिएको एक उच्चस्तरीय टोलीले उद्योगको उत्पादनमा रोक लगाएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग, वाणिज्य कार्यालय, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको संयुक्त अनुगमन टोलीले शुक्रबार मोरङ तथा सुनसरी क्षेत्रका विभिन्न उद्योग तथा व्यापारी फर्ममा गरिएको अनुगमनका क्रममा उक्त रोक्का गरिएको जनाएको छ ।

साथै उक्त टोलीले बाबा भेजिटेवल आयल इण्डष्ट्रिज मोरङ कटहरीको सूर्यमुखी तथा भटमासको तेल, स्वस्तिक आयल इण्डष्ट्रिज मोरङ हात्तिमुडाबाट उत्पादित वनस्पति घ्यु, सूर्यमुखी, तोरी तथा भटमासको तेल, जेके आयल मिल्स सुनसरी दुहवीबाट उत्पादित तोरीको तेल, पशुपति खाद्य उद्योग प्रालि सुनसरी सोनापुरबाट उत्पादित सूर्यमुखी तथा भेटमासको तेल, श्री गृहलक्ष्मी हार्डवेयर, मोरङको वुढीगंगा टंकिसिनवारीबाट उत्पादित पिपिसि अन्नपुर्ण सिमेण्टको नमूना परीक्षणका लागि संकलन गरिएको नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनरका प्रमुख मनिस दासले बताए ।

यसैगरी अन्य नमूना संकलन गरिएका उद्योगहरुमा हुलास वायर प्रालि सुनसरीबाट उत्पादित टिएमटि छड, विजय किराना पसल सुनसरीवाट खाद्य सामाग्री, रौनियार हाडवेयर सुनसरी दुहवीबाट गोरखकाली सिमेण्ट र तेज सिमेन्ट, सुशील स्टोर्स दुहवी सुनसरीबाट खाद्य सामाग्री,मोरङको टंकिसिनवारीस्थित कमला रोलिङ मिल्सबाट उत्पादित टिएमटि फलामे छड रहेका छन् ।
रासस

Satkar Media House
Leave A Reply

Your email address will not be published.