भदौ २, काठमाडौं । धरहरा पुनर्निर्माण गर्न आह्वान गरिएको आर्थिक प्रस्ताव खोल्ने मिति पाँचौं पटक पनि स्थगित भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शुक्रबार प्रस्ताव खोल्ने मिति तय गरेको थियो । प्राविधिक प्रस्ताव पास भएका पाँच कम्पनी मध्ये कुनै एकको कागजात शंंकास्पद भएको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको थियो । सो उजुरी छानबिनका क्रममा रहेकाले शुक्रबार तय गरेको मितिमा प्रस्ताव खोल्न नसकिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए ।
प्राधिकरणले पुनः ५ गते प्रस्ताव खोल्ने नयाँ मिति तय गरेको छ । ‘कसको विरुद्धमा उजुरी दिएको हो भन्ने विषयमा प्राधिकरणलाई जानकारी नहुँदा समस्या परेको हो’, उनले भने – ‘उजुरी परेको कम्पनीबारे जानकारी भएको भए समयमै छानबिन भएर टुङ्गो लाग्ने थियो ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शंकास्पद कम्पनीको विषयका बारेमा छानबिन गरिरहेको उनले जानकारी दिए ।
लगातार सूचना निकाल्दै म्याद थप गरिरहँदा टेन्डर दिएका कम्पनीलाई समेत समस्या परेको छ । सार्वजनिक खरिद नियमावली अनुसार लगातार सय दिन सम्म टेन्डर खोल्न नसकेपछि पुनः टेन्डर गर्नुपर्ने हुन्छ । बिड भ्यालिडिटी पिरियड सय दिनको हुने भएकाले पुनः सूचना निकाल्न मिल्ने प्राधिकरणले जनाएको छ । सूचना निकाल्दै प्रस्ताव खोल्ने मिति स्थगित गरेको करिब दुई महिना बितिसकेको छ । प्राधिकरणले पहिलोपटक वैशाख ३१ गते सूचना जारी गरी प्रस्ताव आह्वान गरेको थियो । लगत्तै असार २० गते सूचना जारी गरी असार २६ गते आर्थिक प्रस्ताव खोल्ने मिति सार्वजनिक गरेको थियो ।
त्यसपछि लगातार चौथो पटकसम्म स्थगित भएको छ । अब भदौ ५ गते कुनै पनि हालतमा प्रस्ताव खोल्ने गरी तयारी भइरहेको सहसचिव मानन्धरले जानकारी दिए । ‘प्रधानमन्त्री कार्यालयको समेत चासो बढेपछि शंस्कास्पद उजुरी छानबिन गरी ५ गते नै प्रस्ताव खोल्ने तयारी गरेका छौं ।’ –उनको भनाइ छ । –नेपाल समाचारपत्र दैनिक