भदौ २, काठमाडौँ । यही भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको लागि परराष्ट्रमन्त्रालयले तयारी तीब्र पारेको छ ।
तयारीकाक्रममा मन्त्रालयले बिम्स्टेकको प्रतीक चिह्न शुक्रबार सार्वजनिक गरेको छ । प्रतीक चिह्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठन भएको मूल समारोह समितिको गत बुधवारको बैठकबाट अनुमोदन भएपछि शुक्रबार सार्वजनिक गरिएको परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिनुभयो । नयाँ प्रतिक चिह्नमा सगरमाथा र समुद्रकोबीचमा बनाइएको हरियो र पहेँले रंगका अर्ध गोलो चिह्न रहेको छ । सो गोलाभित्र गोलोभित्रको बिम्स्टेकका सदस्य राष्ट्रहरूको झण्डा राखिएको छ ।
तयारीकै क्रममा शुक्रवार परराष्ट्रमन्त्रालयले गरेको तयारीको विषयमा जानकारी लिदै बिमस्टेकका सदस्य राष्ट्रहरुको नेपालमा रहनुभएका राजदूत एवं सुरक्षा निकायहरुको उच्चस्तरीय टोली ९एड्भानस टिम० ले सम्मेलन हुने कार्यक्रमस्थलहरुको अवलोकन गर्नुभएको परराष्ट्र मन्त्रालयका सह प्रवक्ताले जानकारी दिनुभयो । ‘सम्मेलनमा कति जनासम्मको सहभागिता रहला भन्ने विषयमा भने परराष्ट्र मन्त्रालयले अझै एकीन भएको छैन । सबै मुलुकबाट के कति संख्यामा अतिथिहरू आउने हो भन्ने एकीन हुन बाँकी छ,’ सहप्रवक्ता ढकाल भन्नुहुन्छ । सदस्य राष्ट्रबाट आउने सरकार प्रमुखहरुको भ्रमण तालिका आउनेक्रम पनि जारी रहेको उहाँको भनाइ छ । उक्त तालिका अनुसारका नेपाल सरकारका तर्फबाट प्रदान गरिने सवारी साधन लगायतका ब्यवस्था भइरहेको उहाँको भनाइ छ ।
हालसम्म श्रीलङ्काका राष्ट्रपति माथ्रिपाला शिरिसेन र म्यानमारका राष्ट्रपति वीन मिइन्टले लुम्बिनी भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएकोले सोही अनुसारको तयारी भएको बताउनुभयो । अन्य सरकार प्रमुखहरूको तालिका भने प्राप्त हुने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै केही राष्ट्रहरुले आफ्नो सांस्कृतिक टोली समेत लिएर आउने भएका छन् ।