नेपाल—भारत मैत्री धर्मशाला निर्माण

भदौ २, काठमाडौं । पशुपति क्षेत्रमा निर्माणाधीन नेपाल–भारत मैत्री धर्मशालाको निर्माण कार्य सकिएको छ ।

भारत काञ्चिकामाकोठी पीठका शङ्कराचार्य जयन्द्र सरस्वतीले नेपाल भ्रमणका वेला यो धर्मशाला निर्माणको प्रयास थाल्नुभएको थियो । शङ्कराचार्य जयन्द्र सरस्वती, तत्कालीन राष्ट्रिय सभाका अध्यक्ष बेनीबहादुर कार्की र नेपालका लागि तत्कालीन भारतका राजदूत शिवशङ्कर मुखर्जी तीनै विशिष्ट व्यक्तित्वले यो धर्मशाला निर्माणका लागि तीनैपटक शिलान्यास गर्नुभएको भए पनि धर्मशाला निर्माण कार्य अगाडि बढ्न सकेको थिएन ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा भएको पहिलो औपचारिक भ्रमणपछि उहाँले यो धर्मशाला निर्माण प्रक्रियाको घोषणा गर्नु भएपछि निर्माण कार्य द्रुत गतिमा अघि बढेको थियो । पशुपति तिलगङ्गास्थित १९ रोपनी जग्गा पशुपति क्षेत्र विकास कोषले धर्मशाला निर्माणका लागि व्यवस्था गरेको थियो ।

भारत सरकारको २६ करोड रुपियाँको अनुदान सहयोगबाट धर्मशाला निर्माण सम्पन्न भएको छ । नेपाली कलाशैलीमा बनेको यो धर्मशाला तीनतलाको छ भने यहाँ चारसय कोठा छन् । सवारी पार्किङ, चमेनागृह सभाकक्ष लगायत सवै कोठा डिलक्स सुविधाका छन् । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार यो धर्मशालाको उद्घाटन तथा हस्तान्तरण प्रधानमन्त्री मोदीबाट हुने भएको छ । धर्मशालाले तिलगङ्गास्थित आँखा अस्पतालमा आउने बिरामी तथा भारतबाट आउने तीर्थयात्रीलाई सहजता हुने आशा गरिएको छ । विगतमा वनकालीमा गुठी संस्थानले धर्मशाला सञ्चालन गरेको भए पनि यो स्तरीय थिएन भने गौशाला धर्मशाला पनि यात्रीकालागि पर्याप्त अनुभव गरिएको थिएन । तीर्थयात्रीका लागि धर्मशालाको आवश्यकता अनुभव गर्दै शङ्कराचार्य जयन्द्र सरस्वतीले धर्मशाला निर्माणको उद्घोष गर्नुभएको थियो ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.