आगामी बैशाख ३० को स्थानीय तह निर्वाचन नजिकिदैँ गर्दा राजनीतिक दलहरु कहाँ कसरी मत आफ्नो पक्षमा पार्ने भन्ने प्रयास गरिरहेका छन् । देशभरि नै राजनीतिक दलहरुले चुनाव लक्षित गतिविधि सञ्चालन गर्दै आईरहेका छन् ।
निर्वाचनको मिति घोषणासंगै पार्टीभित्र आफ्नो मागदावी सहित उम्मेद्वारी बन्ने आकांक्षी प्रस्तुत गर्नेहरु पनि उत्तिकै देखिन्छ । पाँच दलको सत्ता गठबन्धन तथा चुनावी तालमेल बनेसंगै राजनीतिक वृत्तमा उम्मेद्वारी बन्ने आकांक्षीको संख्या पनि उत्तिकै बढ्न थालेका छन् । पार्टीभित्र आफुले टिकट पाउनुपर्ने मागदावी सहित आफ्नो क्षमता प्रस्तुत गरिरहेको बेला काठमाडौँको गोकर्णेश्वर नगरपालिका पनि चुनावी सरगामी चलिसकेको छ ।
त्यस्तै गोकर्णेश्वर नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट उपमेयरका लागि उम्मेद्वारी दावी गर्दै आएकी संगीता घिमिरेले पार्टी संगठन र कार्यशैलीका आधारमा आफुले टिकट पाउने विश्वास व्यक्त गरेकी छिन् । व्यवस्था परिवर्तनका लागि आफ्नो उम्मेद्वारीको दावी रहेको बताएकी उनले विद्यार्थी राजनीतिबाट पार्टी पंक्तिमा रहेका काम गरिसकेको अनुभव सुनाउँदै आउने निर्वाचनमा उपमेयरको उम्मेद्वार बन्न सक्षम र योग्य ठानेकी बताईन् ।
अनेरास्ववियू (क्रान्तिकारी) स्कूल कमिटिको अध्यक्षदेखि पार्टीका नगर स्तरिय महत्वपूर्ण पदमा रही काम गरेको अनुभव भएकी उनले पछिल्लो समयमा सामाजिक रुपमा पनि सक्रिय भएर महिलाहरुको नेतृत्व गर्दै आइरहेकी छिन् । व्यवस्थापन विषयमा स्नातक गरेकी उनले २०७४ सालमा अखिल नेपाल महिला संघ क्रान्तिकारी गोकर्णेश्वर नगरपालिका वडा ६ कमिटिका सचिव हुँदै नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेकपा नगर कमिटि सदस्य र हाल गोकर्णेश्वर नगर कमिटिका कोषाध्यक्ष समेत रहेकी संगीता घिमिरेले पार्टी नेतृत्वले विश्वासका साथ आफुलाई उपमेयरको टिकट दिनेमा विश्वास व्यक्त गरिन् ।
त्यस्तै उनीसंगै नगरको उपमेयरका लागि रेणु कार्की, मन्जु दर्नाल र छेकी शेर्पाको पनि चर्चा चलेको छ । रेणु कार्की यस अघिको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बनेकी थिईन् । कार्की २०७४ मा गोकर्णेश्वर नगरपालिकाको लागि उपमेयर बन्ने मौका पाएकी थिईन् तर उनी नेपाली काँग्रेसकी उम्मेद्वार शान्ति नेपालसंग पराजित भएकी थिईन् । त्यस्तै अर्की उम्मेद्वारीको आकांक्षी मन्जु दर्नाल पनि राजनीतिमा सक्रिय छिन् । उनी पनि सामाजिक क्षेत्रमा क्रियाशील रहदै आएकी छिन् । चुनावी चर्चासंगै समावेशीताको विषय उठाउँदै छेकी शेर्पा पनि उम्मेद्वारको दावेदार हुन् । शेर्पा पनि महिला संघसंस्थामा क्रियाशिलका साथ काम गदैँ आएकी छिन् ।
उम्मेद्वारीको नाम सिफारिस गर्ने दिन नजिकिदैँ गर्दा नेकपा माओवादी केन्द्रबाट गोकर्णेश्वर नगरपालिकाको लागि उपमेयरको दावेदारमा ४ जनाको नाम चर्चा भएको छ । २०६३ सालदेखि नै माओवादी केन्द्रमा आवद्ध भएका कारण संगीता घिमिरेले उपमेयरको उम्मेद्वारीमा आफ्नो दावी कायम नै रहने बताएकी छिन् । उनी महिलाहरुकै विषयमा अधिकार स्थापितका लागि आवाज उठाउँदै संविधानले दिएको कानुनको कार्यन्वयनका लागि आफु सक्षम र योग्य ठानेर आगाडी बढ्ने लक्ष्यसहित आफ्नो दावीलाई पार्टी नेतृत्वले मूल्यांकन गर्ने बताईन् । समाजमा भएका विकृति विसंगती र भ्रष्टाचारको अन्त्य गर्न सामाजिक जागारण र रुपान्तरणको पक्षमा आम नागरिकलाई सहभागीता गराउन नगरपालिकामा आफ्नो नेतृत्व हुनुपर्ने नेतृ तथा सामाजिक अभियान्ता घिमिरेको भनाई छ ।

