आर्थिक समृद्धिका लागि समाजवादको बाटो महत्वपूर्ण : अध्यक्ष नेपाल

चैत २६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकासका साथै जनताको आर्थिक समृद्धिका लागि समाजवादको बाटो महत्वपूर्ण हुने बताउनुभएको छ ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको जनसभामा अध्यक्ष नेपालले सामाजिक न्याय, समानता र जनअधिकारलाई सुनिश्चित गर्दै मुलुकलाई समृद्ध बनाएर सुखी हुने जनताको चाहना पूरा गर्न समाजवादी अर्थ व्यवस्थालाई गतिशील बनाउनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा वापत भत्ता र आफ्नो गाउँ आफैँ बनाऔँजस्ता कार्यक्रम पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले ल्याएको स्मरण गर्नुभयो ।

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्रले जनतालाई अति आवश्यक पर्ने गास, बास र कपासको प्रत्याभूति गर्न नसकेकाले त्यसलाई पूरा गर्न समाजवादी क्रान्तिको खाँचो औँल्याउनुभयो । उहाँले आसन्न स्थानीय निर्वाचनमा जनताले कलम चिह्नमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीका नेताहरू सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, वसन्त मानन्धर, काठमाडौँ जिल्ला कमिटी अध्यक्ष कुसुम कार्कीलगायतले देशमा राजनीतिक स्थिरता कायम राख्न जनताले करिब दुई तिहाई बहुमत दिएर कम्युनिष्ट नेतृत्वको सरकार गठन गरेको भए पनि तत्कालीन सरकारको नेतृत्व असक्षम भएर कम्युनिष्ट आन्दोलन धरासयी बन्न पुगेकाले त्यसलाई संरक्षण तथा जगेर्ना गर्ने दायित्व एकीकृत समाजवादीको भएको बताउनुभयो ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.