काठमाडौं । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले विगत ६ वर्षदेखि रोकिएको आन्तरिक निरीक्षण सुरु गरेका छन् । सङ्गठन चलायमान बनाउन, योजनावद्ध तरिकाले सञ्चालन गर्न तथा सुदृढ र जनशक्ति सक्षमताका लागि भन्दै खनालले निरीक्षण सुरु गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार आईजीपीको निरिक्षणले अनुशासन, चुस्तता, कार्यालय व्यवस्थापन, वैज्ञानिक अभिलेख व्यवस्थापन, अपरेशनल गतिविधिमा सहज गर्ने गर्छ ।
खनालले निरीक्षणका क्रममा प्रहरी प्रधान कार्यालयका विभिन्न विभाग, महाशाखा, शाखालगायत उपत्यका तथा उपत्यका बाहिरसमेत विभिन्न प्रहरी कार्यालयको निरीक्षण गरेका छन् । खनालले प्रहरी प्रधान कार्यालय परिसरभित्रका सम्पूर्ण कार्यालयहरू, विपद व्यवस्थापन महाशाखा, सामाखुशी महानगरीय प्रहरी वृत्त, बालाजु महानगरीय प्रहरी वृत्त, सिंहदरबार सङ्गीत विद्यालय महाराजगञ्ज, सशस्त्र प्रहरी गण नम्बर १ नक्साल, नेपाल प्रहरी विद्यालय सामाखुसी, नेपाल प्रहरी विद्यालय साँगा काभ्रे, इलाका प्रहरी कार्यालय टाँडीको निरीक्षण गरिसकेका छन् ।
यस्तै, चितवन वडा प्रहरी कार्यालय नारायणगढ, चितवन जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, चितवनलगायत नेपाल प्रहरी अस्पताल समेतको निरीक्षण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । निरीक्षणका क्रममा खनालले शान्तिसुरक्षामा ध्यान दिँदै नागरिकलाई सुरक्षित समाजको अनुभूति गराउन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई कार्य गर्न निर्देशन समेत दिँदै आएका छन् ।
निरीक्षणबारे प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले भने, “सम्पूर्ण प्रहरी कर्मचारीलाई नजिकबाट वुझ्ने, उनीहरूको कामको स्तर हेर्ने, कुनै त्रुटी भए हटाई तत्काल सुधार गर्ने उद्देश्यले संगठन प्रमुखबाट निरीक्षण भएको हो ।” थापाले भने, ‘‘कानुन कार्यान्वयन, अपराध अनुसन्धान तथा रोकथाम, कानुनी राज्यको स्थापना, मानवअधिकारको सम्मानजस्ता प्रहरीका मुख्य जिम्मेवारी पूरा गर्न कार्यालय व्यवस्थापन र कर्मचारीको सक्रियता त्यतिकै चुस्त हुनुपर्छ । सङ्गठन प्रमुखको निरीक्षण यसैको एउटा सुरुवात हो ।’’