चैत २०, धनगढी । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ‘विन–विन’को अवस्थामा चुनावी तालमेल गरिने बताएका छन् ।
आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सत्ता गठबन्धनका बीचमा चुनावी तालमेल गरेर जाने सकारात्मक सहमति भएको बताए । “सकारात्मक सहमतिले जनता उत्साहित छन्,” उनले भने, “तर, जनविरोधीको निन्द्रा हराम भएको छ ।” जनविरोधीहरू जथाभावी बोल्न थालेको उनको आरोप छ । उनले भने, “वाम शक्ति र लोकतान्त्रिक शक्तिबीच गठबन्धन गरेर अगामी निर्वाचनमा जाने सहमतिले जनविरोधीहरू विचलित भएका छन् ।”
फरक प्रसंगमा अध्यक्ष नेपालले अहिले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर नै चलेको जिकिर गर्दै प्रतिगामी शक्तिहरू त्यसलाई रोक्न ‘न्वारनदेखिको बल’ लगाएर लागिपरेको बताए । तर, उनीहरूको त्यो प्रयास सफल नहुुने उनको भनाइ छ । संविधानको रक्षा र संघीयता जोगाउने काम एकीकृत समाजवादीले गरेकाले सबैतिर प्रशंसा भइरहेको उनको जिकिर थियो ।
आइतबार बिहान धनगढी आएका उनी कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् । त्यहाँ नेकपा ९एमाले०बाट निर्वाचित वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दसहित ठूलो संख्यामा जनप्रतिनिधि र नेता–कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

