चैत २०, काठमाडौँ । । एक सातादेखि धुम्म भएको अझै दुई सातासम्म खुल्ने सम्भावना न्यून रहेको वातावरणविद्हरुले जनाएका छन् । पानी पर्ने र हावा चल्ने सम्भावना नभएकाले एक सातादेखि वायु मण्डल हलचल गर्न नसकेको वैशाखसम्मै आकास धुम्म रहने मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो
तराई र पहाडी भूभागका मुख्य शहरहरुको तल्लो तहसम्म प्रदूषण थिग्रिएर बसेकोका कारण आकाश खुल्ला बैसाख नै लाग्न सक्ने पौडेलले जानकारी दिनुभयो । प्रिमनसुन समय भन्दा अगाडि भएकाले पानी पर्ने सम्भावना नभएको र स्थानीय बायू समेत निष्क्रिय भएकाले वायु प्रदूषणको दर समेत उच्च बन्दै गएको उहाँले बताउनुभयो । सुख्खा मौसमका कारण धेरै स्थानमा डढेलो लाग्नाले वायुमण्डल प्रदुषित भएको महाशाखाले जनाएको छ ।
अहिले पोखरा, काठमाडौं र धनकुटामा वायु प्रदूषण उच्च भएको वातावरण विभागको तथ्याङ्कले देखाएको छ । यी सहरसँगै देशका मुख्यमुख्य सहरमा समेत प्रदूषणको दर वृद्धि भएपछि सतर्कता अपनाउन विभागले अनुरोध गरेको प्रवक्ता शङ्करप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रदूषण वृद्धिले आकास धुम्मिएसँगै आन्तरिक वायुसेवा प्रभावित बन्दै आएको छ ।

