चैत १९, काठमाडौँ । स्नातक तहको एकीकृत (एमबीबीएस) प्रवेश परीक्षा केन्दमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निरीक्षण गर्नुभएको छ ।
शुक्रबार काठमाडौं उपत्यकामा सञ्चालित दुई परीक्षा केन्द्रमा निरीक्षण गर्नुभएको हो । “देश विदेशबाट परीक्षा दिन परीक्षार्थी आउनुभएको छ,” चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसहितका प्रतिनिधिलाई मन्त्री पौडेलले भन्नुभयो, “चिकित्सा शिक्षा आयोगले लिने परीक्षामा अहिलेसम्म प्रश्न उठेको छैन यसलाई थप मजबुद बनाउँदै लैजानुहोला ।” मन्त्री पौडेलले नेपाल आर्मीको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षण गर्नुभएको हो । स्नातक तहको एकीकृत प्रवेश परीक्षा आज भोलि र पर्सि गरेर तीन दिन हुनेछ ।
स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षाहरू सहभागी हुनेछन् । शुक्रबार पहिलो दिन १९ हजार ५०८ जना परीक्षामा सहभागी भएका छन् । त्यसका लागि काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा मात्र परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाका लागि उपत्यकामा १११ परीक्षा केन्द्र तोकिएको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जनाकारी दिनुभयो ।

