नेपालले र्याफ्टिङ ओलम्पिक पदक जित्ने आकलन

चैत ५, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात् र्याफ्टिङको विकास र विस्तार गर्ने सोच अघि सारेको छ ।

साहसिक जलयात्रामा नेपाली खेलाडी (गाइड) मा अनुभव पोख्त र प्रतिस्पर्धी क्षमता बलियो देखेपछि आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताका लागि मन्त्रालय नीतिगत व्यवस्थाको तयारीमा लागेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले आगामी एशियन र ओलम्पिकमा र्याफ्टिङमा पदक जित्न नेपालको सहभागिता प्रभावकारी हुनसक्ने आकलन गरिएको प्रतिक्रिया दिए । नेपालको भौगोलिक अवस्थितिका कारण पहाडबाट दक्षिणतर्फ बग्ने अधिकांश नदीमा पर्यटनसँगै खेलकुदलाई जोड्न र प्रयोग गर्नसक्ने प्रशस्त सम्भावना छ । त्रिशूली, भोटेकोसी, सुनकोसी, कालीगण्डकी, मस्याङ्दी, बूढीगण्डकी, कर्णाली र पश्चिम सेती साहसिक जलयात्राका लागि विश्वमै कहलिएका नदी हुन् । नेपालका छ हजारभन्दा बढी नदीनाला रहेकामा त्यसमध्ये दोस्रो स्तरका सहायक नदीमा पनि र्याफ्टिङ प्रतियोगिता सजिलै सञ्चालन गर्न सकिनेछ । नेपालका नदीमा सन् १९६० देखि सुरु भए पनि सन् १९९० को दशकमा नेपाल भित्रनेमध्ये २० प्रतिशतसम्म पर्यटक जलयात्रामा निस्कने गरेको तथ्यांक छ ।

नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीद्वारा गत फागुन अन्तिम साता त्रिशूलीमा भएको र्याफ्टिङमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र सचिव रेग्मी सहभागी भएसँगै साहसिक जलयात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने विषयले पुनःचर्चामा पाएको हो । सचिव रेग्मी भन्छन्, “त्रिशूलीमा भएको र्याफ्टिङमा सहभागी भएसँगै हामीमा स्वामित्व ग्रहण भएको छ, आयोजक र खेलाडीमा ठूलो उत्साह देखियो, विभागीय टिममात्र होइन, व्यक्तिगत खेलाडीमा पनि प्रतिस्पर्धा गर्ने क्षमता उच्च छ, पर्यटक र साहसिक खेलकुदलाईसँगै अघि लैजानुपर्छ, यस विधामा नेपालको पदक जित्ने सम्भावना अधिक छ ।” नेपालका र्याफ्टिङ प्रशिक्षक (गाइड)ले दक्षिण एशियामा मात्र नभई युरोप र अमेरिकामा समेत अनुभवी तथा साहसिकको परिचय बनाएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.