फागुन २५, काठमाडौं । दक्षिण कोरियामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान भईरहेको छ । विभिन्न काण्डहरुको चर्चाका बीच नयाँ राष्ट्रपति चयनका लागि कोरियालीहरु मतदानमा सहभागी भएका छन् ।
उत्तर कोरियाबाट आईरहेको आणविक धम्की, देशभित्र जन्मदरको न्युन अवस्था, आवासको बढ्दो मूल्य र समाजमा बढ्दो असमानता नयाँ आउने नेतृत्वका लागि चुनौतीको रुपमा रहनेछन् । राष्ट्रपति मुन जे इनको स्थान लिएर एशियाको चौथो ठूलो अर्थतन्त्र भएको देशको नेतृत्व लिनका लागि सत्तारुढ डेमोक्रेटिक पार्टीका ली जे म्योङ र विपक्षी पिपुल्स पावर पार्टीका युन सुक योलबीच चर्को प्रतिष्पर्धा देखिएको छ । मत सर्वेक्षणहरुले म्योङ भन्दा युनलाई अगाडि देखाएका छन् । पूर्व महाअभियोजक रहेका युनले भ्रष्टाचार विरुद्ध कठोर कदम चाल्ने, उत्तर कोरियासँग पनि कठोर नीति लिने जस्ता नारा अघि सारेका छन् ।
दुई जना पूर्व राष्ट्रपति र सामसङ कम्पनीका प्रमुखलाई भ्रष्टाचार मुद्दामा जेल पठाउन सफल युनको लोकप्रियता अलि बढी नै देखिएको छ। यस्तै, मजदुरबाट उठेर मानवअधिकार अभियन्ताको परिचय बनाएका सत्तारुढ पार्टीका उम्मेदवार लीले अहिलेको समस्या समाधानका लागि तल्लो तहबाट उठेको ब्यक्ति आवश्यक हुने तर्क गर्दै आउनु भएको छ । नयाँ निर्वाचित हुने राष्ट्रपतिको भोलिदेखि कार्यकाल सुरू हुने छ ।

