स्वास्थ्यमन्त्री खतिवडाद्वारा अङ्गदान, उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान

फागुन १६, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडाले आफ्नो मृत्युपश्चात सम्पूर्ण अङ्गदान गर्ने घोषणा गर्नुभएको छ ।

चौबीसौँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अङ्गदान शिविरमा मन्त्री खतिवडाले अङ्गदान गर्ने घोषणा गर्नुभएको हो । त्यस्तै मुख्य सचिव शङ्करदास वैरागीले पनि अङ्गदान गर्ने घोषणा गर्नुभएको थियो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले स्वास्थ्य दिवसको अवसरमा अङ्गदानका साथै मिर्गौला परीक्षण कार्यक्रम पनि राखिएको जानकारी दिनुभयो ।

उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान
यसैबीच म्याग्दी बेनी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा.  जितेन्द्र कँडेल एक लाख राशिको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । यसैगरी ५० हजार राशिको स्वास्थ्य सेवा पुरस्कार बाजुरा अस्पतालमा कार्यरत अनमी धनकला थापा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका ल्याब टेक्निसियन निरीक्षक ओम आचार्य, प्रादेशिक अस्पताल गौरका ल्याब टेक्निसियन रामप्रवेश साह र चतरा प्राथमिक स्वास्थ्य केन्द्रका वरिष्ठ अहेव योगेन्द्र कट्टेललाई प्रदान गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा रहेर उत्कृष्ट काम गर्ने १० जनालाई स्वास्थ्यसेवा सम्मान प्रदान गरिएको छ । उक्त सम्मान पाउनेमा औषधि व्यवस्था विभाग विराटनगर शाखाप्रमुख सञ्जीव कट्टेल, जिल्ला आयुर्वेद रौतहटका कविराज रुद्रनारायण महतो, स्वास्थ्यसेवा विभागका वरिष्ठ फर्मासिस्ट बढेबाबु थापा, दर्लिङ स्वास्थ्यचौकी बागलुङमा कार्यरत अनमी प्रेमकुमारी केसी हुनुहुन्छ ।

यस्तै पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा कार्यरत डा.  शरदचन्द्र बराल, महिला स्वास्थ्य स्वयंसेविका गुल्मीमा कार्यरत लीला थापा, वरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय बर्दियामा कार्यरत गोकर्ण गिरी, भेरी अस्पतालमा कार्यरत नर्सिङ निरीक्षक सञ्जु रिजाल, हेल्थ असिस्टेन्ट लालबहादुर रोका र सवारीचालक गगन विकलाई सम्मान गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ नियन्त्रण गर्न स्वास्थ्यकर्मीहरूले उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभएको छ । २४औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले स्वास्थ्यकर्मीहरूले आफ्नो ज्यानको परवाह नगरी कोरोना नियन्त्रणमा खटेकोमा प्रशंसा गर्नुभयो ।

उहाँले अझै पनि स्वास्थ्यमा जनशक्ति अभाव रहेको भन्दै जनशक्ति परिपूर्ति गरिने बताउनुभयो । मन्त्री खतिवडाले विगत तीन दशकमा नेपालको स्वास्थ्य सेवा प्रवाह वृद्धि भई नेपालीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताउनुभयो । उहाँले नेपालको पहिलो राष्ट्रिय स्वास्थ्य नीति २०४८ ले स्वास्थ्य सेवालाई देशको कुनाकाप्चामा फैलाउने नीति लिएको भन्दै त्यसपछिका स्वास्थ्य नीतिले गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिइएको बताउनुभयो ।

मुख्य सचिव शङ्करदास बैरागीले स्वास्थ्यकर्मीहरूको समायोजनलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले कोरोना नियन्त्रणमा स्वास्थ्यकर्मीहरूको भूमिका ठूलो रहेको बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.