शीर्ष स्थानमा अग्रता बढाउँदै रियाल

फागुन ८, काठमाडौं । रियाल मड्रिडले शनिबार राति स्पेनिस ला लिगाको रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको डेपोर्टिभो अलाभेसलाई ३–० ले हराएको छ । जितसँगै रियालले शीर्ष स्थानमा सात अंकको अग्रता लिएको छ ।

कार्लो एन्सेलोट्टीको टिम रियालले पहिलो हाफमा गोलको राम्रो अवसर सिर्जना गर्न सकेन । दोस्रो हाफमा करिम बेन्जेमाले उत्कृष्ट प्रदर्शन गरेपछि रियालले सहज नतिजा हासिल गर्यो । ६३औं मिनेटमा बेन्जेमाको पासमा मार्को एसेन्सियोले गरेको गोलबाट रियालले अग्रता लियो । ८०औं मिनेटमा बेन्जेमाकै पासमा भिनिसियस जुनियरले रियालको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा बेन्जेमाले पेनाल्टीमा अर्को थपेपछि रियालले सहजै तीन अंक जोड्न सफल भयो । जितपछि रियालले २५ खेलबाट ५७ अंक जोडेको छ । जुन दोस्रो स्थानको सेभियाभन्दा सात अंकले माथि हो । सेभियाले एक खेल कम खेलेको छ । पराजित डेपोर्टिभो अलाभेस भने २० अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

साविक विजेता एट्लेटिको विजयी

ला लिगामा शनिबार राति नै साविक विजेता एट्लेटिको मड्रिडले पनि ओसासुनामाथि ३–० को विजय हासिल गरेको छ ।

भ्रमणकारी एट्लेटिकोले तेस्रो मिनेटमै जोओ फेलिक्सको गोलबाट अग्रता लिएको थियो । ५९औं मिनेटमा लुइस स्वारेजले अग्रता दोब्बर बनाए । खेल सकिन एक मिनेट बाँकी हुँदा एन्जेल कोरेराले अर्को गोल थपेपछि एट्लेटिकोले सहजै तीन अंक जोडेको थियो ।

जितसँगै एट्लेटिको चौथो स्थानमा उक्लिएको छ । एट्लेटिकोले २५ खेलबाट ४२ अंक जोडेको छ । जुन तेस्रो स्थानको रियाल बेटिसभन्दा एक अंकले पछाडि हो भने पाँचौं स्थानको भियारियालभन्दा तीन अंकले माथि हो । तथापि, रियाल बेटिसले एक खेल कम खेलेको छ । पराजित ओसासुना ३२ अंकका साथ नवौं स्थानमा छ । भियारियालले गएराति १७औं स्थानको ग्रानाडालाई ४–१ ले हराएको थियो । अन्य खेलमा १५औं स्थानको गेटाफेले रेलिगेशन क्षेत्रको कार्डिजसँग १–१ को बराबरी खेल्यो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.