वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा : ३५ लाख बिगो

जेठ २७, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका–५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जिल्लाको तत्कालीन सहोडवा गाविस–१ हाल पिपरा गाउँपालिका–५ का वडाध्यक्ष यादवले स्थानीय सुब्बा पोखरी हकभोग गरेबापत गाविस कार्यालयलाई ठेक्काबापतको बुझाउनुपर्ने रकम नबुझाई आफूलाई गैरकानूनी लाभ पुर्‍याई बदनियतपूर्वक सार्वजनिक सम्पत्ति नोक्सानी गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो। आरोपित यादवमाथि ३५ लाख २१ हजार २०४ मागदाबी लिई विशेष अदालतमा बिहीबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

साविकको सहोडवा गाविस–६ मा पर्ने सुब्बा पोखरीको तत्कालीन गाविस कार्यालयले २०७१ साल भदौ १ गतेदेखि २०७६ साल भदौ मसान्तसम्मको ठेक्का बन्दोबस्त हुँदा पोखरी हकभोगको ठेक्का यादवको नाममा स्वीकृत गरेको तर निजले पोखरी हकभोग गरेबापत गाविस कार्यालयलार्ई रकम नबुझाएको भन्ने उजुरी उनीविरुद्ध परेको थियो । उक्त उजुरीउपर आयोगले अनुसन्धान गर्दा यादवले २०७३ साल माघ ४ गतेसम्ममा जम्मा १९ लाख ४२ हजार ८०१ गाविसलाई बुझाएको र वडाध्यक्ष निर्वाचित भएपछि पदको प्रभाव पारेर कुनै पनि किस्ता रकम नबुझाएको पुष्टि भएको आरोपपत्रमा उल्लेख गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.