माघ १९, काठमाडौं । तामाङ समुदायले आज सोनाम ल्होसार पर्व मनाउँदै छन् । यस अवसरमा देशभर विशेष कार्यक्रम आयोजना गरिनेछ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । सरकारले सोनाम ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होसारको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । मौलिक चाड पर्व र संस्कृतिको जगेर्नाले आपसी सद्भाव बढाउने मात्रै नभई हाम्रो मौलिक सभ्यताको विकासमा पनि सघाउने राष्ट्रपति भण्डारीको भनाइ छ । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना सन्देश दिंदै कोरोना संक्रमणलाई ख्याल गर्दै पर्व मनाउन आग्रह गर्नुभएको छ ।


Comments are closed.