आजबाट मुलुकभर नयाँ मुलुकी संहिता ऐन लागू

काठमाडौं, भदौ १ । आजबाट मुलुकभर नयाँ मुलुकी संहिता ऐन लागू भएको छ । एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै मुलुकमा फौजदारी र देवानी संहितासहितका पाँच वटा कानुन एकसाथ लागू भएको हो ।

वि.सं. १९१० मा पहिलोपटक जंगबहादुर राणाले लागू गराएको मुलुकी संहिता २०२० सालमा अद्यावधिक गरी कार्यान्वयनमा गरिएको थियो । लामो कसरत र गृहकार्यपछि बनाइएको संहितामा कतिपय नयाँ व्यवस्थाहरु राखिएका छन् भने कतिपय अपराधको दायरा पनि बढाइएको छ ।

संसदबाट एक वर्षअघि पारित भई ऐनको रुपमा आएको पाँच वटा कानुन भदौ १ अर्थात् आजबाट कार्यान्वयनमा ल्याइएको हो । यातना दिई निर्मम हत्या, विमान अपहरणपछि विस्फोट गरी हत्या, अपहरण वा शरीर बन्धक लिई ज्यान मारेको, पेय वा खाद्य पदार्थमा विष हालेर ज्यान मारेको, जाति हत्या र बलात्कारपछि हत्या जस्ता अपराधमा बाँचुन्जेल जेल बस्नुपर्ने व्यवस्था गरेको छ ।

यता, देवानी संहिताले छोराछोरी दुबैलाई तीन पुस्तासम्म अपुताली हकदाबी गर्न पाउने हक दिएको छ । संहिताअनुसार यस्तो हक पुग्ने कोही नभए त्यस्तो सम्पत्ति राज्यको हुनेछ । सम्बन्धविच्छेदका लागि महिलासरह पुरुष पनि अदालतमा जान पाउनेछन् । आमाको नाममा पनि थर राख्न पाइनेछ । पति वा पत्नीले एकअर्कालाई बेवास्ता गरी तीन वर्षसम्म टाढिएमा स्वतः सम्बन्धविच्छेद हुने प्रावधान संहितामा छ । संहिता निर्माण गर्दा झन्डै एक सय कानुन परिवर्तन गरिएको छ भने यो लागू भएपछि २० वटा कानुन खारेजीमा परेका छन् ।

तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले विक्रम संवत् १९१० मा मुलुकमा थिति बसाल्न धर्म, प्रथा र परम्पराका आधारित मुलुकी ऐन बनाएर लागू गराएका थिए ।

 

Satkar Media House
Leave A Reply

Your email address will not be published.