भदौ १, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिहीबार पदभार ग्रहण गर्नुभएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई दोस्रो पटक प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । मंगलबार उहाँलाई प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीलगायतका कर्मचारीले स्वागत गर्नुभयो । पदवहाली गरेसँगै उहाँले पुनर्निमाणका सबै कार्यलाई तोकिएको समयसिमाभित्रै सम्पन्न गर्ने गरी तीब्रता दिइने प्रतिवद्धता ब्यक्त गर्नुभयो । त्यसका लागि उहाँले आफ्नो कार्याकालमा सुरु गरिएको पञ्चवर्षीय योजनाकोे मध्यावधि समीक्षा गरी निर्णय लिने जानकारी दिनुभयो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अहिले स्थानीय तहमा जनप्रतिनिधि आइसकेको सन्दर्भमा उनीहरुलाई समेत पुनर्निर्माणमा जिम्मेवार र उत्तरदायी बनाएर अगाडि बढ्ने आफ्नो सोचाइ रहेको स्पष्ट पार्नुभयो
उहाँले विगतको आफ्नो कार्यकालमा भएका कतिपय निर्णय कार्यान्वयनमा नजाँदा पुनर्निर्माणका काम अलमल भएको भन्दै ती निर्णयलाई पुनर्जिवित (रिभाइब) गराएर काम अगाडि बढाइने बताउनुभयो । उहाँले आठ लाख सात हजार लाभग्राहीमध्ये दुई लाख नौ हजार घर मात्र पुननिर्माण भएको भन्दै बाँकी घर निर्माणलाई प्राथकिता दिने बताउनुभयो । उहाँले काठमाडौंँ उपत्यकाका भित्री वस्तीको पुनर्निर्माणमा देखिएका बैङ्क ऋण, जग्गाका स्वामित्वका विषयमा तत्काल छलफल गरेर उपयुक्त समाधान खोजिने पनि बताउनुभयो । त्यस्तै सांस्कृति सम्पदाको पुनर्निर्माणमा देखापरेका समस्या समाधानको लागि पनि सरोकारवालसँग छलफल गरिने बताउनुभयो ।
पाँच वर्षको कार्यादेश पाएको पुनः निर्माण प्राधिकरणको तीन वर्षको अवधिमा पाँच जना प्रमुख कार्यकारी अधिकृत फेरिएका छन् । ज्ञवालीले दोस्रो पटक पदबहाली गर्नुभएको हो । यसअघिका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाललाई सरकारले हटाएपछि झण्डै दुई महिना प्राधिकरण प्रमुख विहीनको अवस्थामा थियो । ज्ञवालीले यसअघि पनि केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा प्राधिकरणको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । ओली सरकार हटेर पुष्पकमल दाहाल प्रचण्डको सरकार बनेपछि ज्ञवालीलाई हटाएर डा। गोविन्द पोखरेललाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको थियो । डा। पोखरेल पनि गत निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्न हिँडेपछि पूर्व सचिव युवराज भुसालले प्राधिकरणको नेतृत्व सम्हाल्नुभएको थियो ।
अघिल्लो पटक पदबाट हटाइए पछि पुर्नवहालिका लागि ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । पद बहालीपछि उहाँले आफू मुद्दा फिर्ताको प्रक्रियामा गैसकेको जानकारी दिनुभयो ।