काठमाडौँ । नेकपा एकिकृत समाजवादी पार्टीका स्थायी कमिटि सदस्य एवम् बागमति प्रदेशका अध्यक्ष सावित्री भुसालले नेकपा एमालेमा व्यक्तिवादी प्रवित्ति हावि हुदै गएको संकेत गर्दै अब एमाले पार्टी केपी ओली पार्टीमा परिणत भएको बताएकी छन् ।
गत शनिवार दलित मुक्ति संगठन काठमाडौँ जिल्लाको भेलालाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । एमालेसंगको विद्रोहबाट जनताको भावनाको रक्षाका लागि नेकपा एकिकृत समाजवादी पार्टीको निर्माण भएको उल्लेख गर्दै अध्यक्ष भुसालले अबको निर्वाचनमा जनताको इच्छा पूरा गराउने विश्वास व्यक्त गरिन् । ओलीको तानाशाहा र निरंकुश शैलीको भण्डाफोर गर्न अझै सबै राजनीतिक दल र नागरिक लाग्नुपर्ने बताउँदै आगामी स्थानीय तहको निर्वाचनमा ओली आफै पतन हुने जिकिर गरिन् ।

उनले अहिले चर्चामा रहेको एमसीसीबारे बोल्दै एमसीसीलाई जनताको भावना विपरीत अनुमोदन गर्न नदिने बताईन् । अध्यक्ष भुसालले भनिन्– ‘एमसीसी समाजवादी विरुद्धको रणनीति र राष्ट्रघाती सन्धी हो ।’ भुसालले थप्दै भनिन् – ‘राष्ट्र र जनताको हित विपरीत हुने कार्यलाई निरुत्साहित पार्न नेकपा एकिकृत समाजवादी पार्टी पछि हट्ने छैन, डटेर लाग्नेछ ।’ राजनीतिक दलहरुमा अझै विभेद अन्त्य नभएको र विभिन्न जातजातीको आधारमा विभेद गर्ने प्रवित्तिलाई निरुत्साहित पार्न कानुनी उपचारको अभ्यास गर्दै कारवाही गर्न आफुले नेतृत्व गरेको पार्टी पछि नहट्ने र पार्टीले पार्टी संगठनलाई बलियो बनाउन जनआधार तयार गर्दै अगाडी बढ्न समेत नेता कार्यकर्तालाई आग्रह गरिन् ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवम् मुक्ति संगठनका अध्यक्ष गणेश वि.क., काठमाडौँ जिल्ला अध्यक्ष कुशुम कार्की, स्थायी कमिटि सदस्य गोपाल बराल लगायतले मन्तव्य राखेका थिए । उक्त भेलाबाट जीतबहादुर रसाईलीको नेतृत्वमा दलित मुक्ति संगठन काठमाडौँ जिल्ला कमिटि गठन भएको छ । वरिष्ठ उपाध्यक्ष सुरेन्द्र तिरुवा, उपाध्यक्ष सुनिता रसाईली , राम तिरुवा, सचिव धिरज लखन्द्र लगायत ५१ जना सदस्यीय जिल्ला कमिटि गठन भएको दलित मुक्ति संगठनका काठमाडौं जिल्ला इन्चार्ज गणेश तिरुवाले बताए ।

