संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई प्रधानमन्त्रीको निर्देशन

पुस २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्रीले नागरिकको जीवन पहिलो प्राथमिकता हुने भन्दै जीवन रक्षाका लागि आवश्यक हरेक प्रकारको तयारीमा रहन मातहतका निकायलाई निर्देशन दिनुभएको हो ।

उहाँले स्कूल, कलेजदेखि विभिन्न ठाउँमा खोप केन्द्र स्थापना गरेर खोप अभियान नै चलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले स्वास्थ्य सामग्रीदेखि अन्य आवश्यक सामग्रीको पनि पूर्वतयारीमा जोड दिनु भएको छ ।

बैठकमा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमा नाकालाई व्यवस्थित बनाउने पनि निर्णय भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको अवस्था र मन्त्रालयले गरिरहेको कामका बारेमा ब्रिफिङ गर्नु भएको थियो । सेनाले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएको थियो ।बैठकमा सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने विषयमा छलफल भए पनि कुनै निर्णय भएन ।

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.