आयात प्रतिस्थापन गर्न स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्छ – अर्थमन्त्री शर्मा

मंसिर २२, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आयातलाई प्रतिस्थापन गर्न स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभएको छ ।

बुधबार नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले आयातमा प्रतिबन्ध नभई स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभएको हो । ‘स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने नीति आवश्यक छ’, मन्त्री शर्माले भन्नुभयो, ‘आयातलाई प्रतिबन्ध लगाउनुपर्छ म भन्दिनँ । आजको जमानामा यो सम्भव छैन ।’ उहाँले विभिन्न अन्तर्राष्ट्रिय कानुन तथा सन्धीहरूकै कारण पनि प्रतिबन्ध लगाउन सम्भव नहुने बताउनुभएको हो । यद्यपि स्वदेशी उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाएर लैजान सकिने बताउनुभयो । ‘प्रतिबन्ध सम्भव छैन’, उहाँले भन्नुभयो, ‘तर एउटा कुरा सम्भव छ, स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ ।’ यसमा सरकार र व्यवसायी सबैको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री शर्माले सबै कुरामा प्रतिस्पर्धा गर्न नसके पनि केही विशेष वस्तुहरू छनोट गरेर प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभएको हो । उहाँले खाद्यान्न, उद्योग साथै अन्य विभिन्न क्षेत्र छनोट गरी तिनका विशेष उत्पादनमा आत्मनिर्भर तथा प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभयो । त्यसका लागि परम्परागत नीतिलाई समायानुकूल परिवर्तन गर्नुपर्ने र त्यो सम्भव रहेको पनि उहाँले बताउनुभयो ।

मन्त्री शर्माले अटोमोबाइल्स क्षेत्रले राजस्वमा पु¥याइरहेको योगदान औद्योगिक क्षेत्रमा रूपान्तरण गरी थप योगदान गर्न समेत व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उहाँले नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना गरी भन्सारमा आधारित राजस्व योगदानलाई परिवर्तन गर्न आग्रह गर्नुभएको हो । ‘त्यो २५ प्रतिशत राजस्वको योगदानलाई घटाएर अरू फरक किसिमले ५० प्रतिशत योगदान पु¥याउन तपाईँहरूलाई आग्रह छ’, व्यवसायीहरूलाई उहाँले भन्नुभयो, ‘आजको दिनमा जहाँ पनि प्रविधि पु¥याउन सकिन्छ । जनशक्ति, जमिनलगायत बजार पनि हामीसँग छ । त्यसैले नेपालमै तपाईँहरूले उत्पादन कार्य किन प्रारम्भ नगर्ने ?’

उत्पादनका लागि विद्युतमा उपलब्ध गराउनुपर्ने सहुलियत, जग्गा व्यवस्थापन, श्रम गर्दा निरन्तर उद्योग चलाउने वातावरणको ग्यारेन्टी लगायतका सरकारले उपलब्ध गराउनुपर्ने सेवाहरूको व्यवस्था गर्ने बाचासमेत मन्त्री शर्माले गर्नुभयो । अटो मोबाइल्समा गाडी उत्पादन मात्र नभएर धेरै किसिमका उद्योगहरूको सम्भावना रहेको मन्त्री शर्माले बताउनुभयो । उहाँका अनुसार अटोभित्र टायर, लुब्रिकेन्ट्स, ब्याट्रीलगायतका उद्योगको सम्भावना रहेका छन् । यस्ता उद्योगहरू स्थापना गरी आत्मनिर्भर हुन बनाउनुपर्ने नीति तथा आवश्यक सुधारका लागि सुझाव दिन समेत मन्त्री शर्माले अटो माबाइल्स व्यवसायीसँग आग्रह गर्नुभयो ।

यसैगरी मन्त्री शर्माले अब पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेशनका रूपमा बदल्नुपर्ने बताउनुभएको छ । मुलुकमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनिकरण गर्न पनि इलेक्ट्रिक सवारी साधनको उपयोग वृद्धि गर्नुपर्ने बताउनुभएको हो । ‘अब बिस्तारै पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेशनमा बदल्नुपर्छ’, मन्त्री शर्माले भन्नुभयो, ‘यस किसिमको प्रविधि पनि आइसकेको छ । यसो गर्दा नै हामी सबैको भलो हुनेछ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.