हामी प्रारम्भ खबरको आफ्नो कथा स्तम्भमा साहित्यकार डा. रमेश शुभेचछुको स्कुल जीवनका संस्मरणलाई प्रस्तुत गर्दै आएका छौँ ।
यस हप्ता मेरो स्कूल श्रृखला –७ अन्तरगत डा. शुभेच्छुको स्कूल गएको दिन’ अनुभव समेटिएको छ । – सम्पा.
आफूले पढेको स्कुल पहिलो पटक देखेको सम्झना कसलाई नहोला ? स्कुल परिवेश र कक्षाकोठामा टेकेको सम्झना कसलाई नहोला ? त्यसमा पनि स्कुल जान थालेको दिन कसलाई अनौठो नलाग्ला ? त्यसको सम्झना कसका मनमा चित्र बनेर आइनरहला ? म मात्रै कसरी बिर्सन सक्थेँ र ।
त्यस बेलाका धेरै बालबालिका स्कुल जाने दिन समझन सकछन् । एका घरका दाइदिदीसँगै स्कुल जाने कोही भए छिटै पनि जान्थे होलान् । धेरैको स्कुल यात्रा मेरो जस्तै उमेर छिपिएपछि हुन्थ्यो । उमेरले पनि सम्झन सक्ने भइएको हुन्थ्यो । त्यहाँको वातावरण बोध गर्न सक्ने भएर स्कुल गइन्थ्यो ।
मेरा सम्झनामा स्कुलको पहिलो दिन फ्लिम हेरे झैँ ताजा छ । घरमा स्कुल जान गरेको तयारी पनि सम्झना छ । बाटाका प्राय सबै डिल सम्झनामा छन् । घरबाट स्कुल पुगुन्जेलका सबै घटना ताजा छन् । त्यो गल्ली, त्यो गोरेटो, त्यो खोलो, पानीको धारो सबै सम्झनामा छन् ।
बाटामा भेटिएका मान्छे सबै सम्झन्छु । बाटामा आँगान आँगन बाटो घुम्दै जाँदाका घरहरु सबै सम्झन्छु । ठुला ठुला बर पिपलका, काभ्राका रुख सम्झन्छु । लप्सिका बोटहरु सम्झन्छु । बाँसघारीहरु सम्झन्छु । पछि पछि हिँड्दाको अनुभवले होइन पहिलो दिनकै अनुभूतिले सम्झन्छु ।
मैले स्कुल जानुपूर्व घरमै केही सिकेँ । केही केही जानेँ । स्कुल टाढा छ भन्ने बहानामा म एक वर्ष ढिला भइसकेको थिएँ । त्यसले मलाई केही जानेको छु भन्ने बनाएको थियो । तर मनमा के होला कसो होलाको जिज्ञासा छँदै थियो । उत्साह र त्रास दुवै थियो ।
मेरा मस्तिष्कमा त्यो दिन ताजा छ । चित्राकृति जस्तै खिचिएको छ । केही उत्साह, केही त्रास, केही फरक अनुभूति । केही जाँगर केही आलस्य । केही थकान । केही भोकतिर्खा ।
लाग्छ, त्यस दिनले जीवनमा फरक बाटो कोर्यो । स्कुलपूर्व जीवनको लय भङ्ग गरिदियो । दैनिकीका पानामा नयाँ रङ पोतिदियो ।
त्यस दिनले मलाई मलाई परिवारबाट समाजमा पुर्यायो । केही मान्छे भएको परिवारबाट ठुलो भीडभाडमा पुर्यायो ।
हो, त्यो दिन विशेष थियो । त्यस दिन दिउँसो बाख्रा चराउन जानुपर्ने थिएन । बडीआमासँग गाई चराउन जानुपर्ने थिएन । हजुरआमासँग मेलामा खाजा पुर्याउन जानु पर्ने थिएन । म एक किसिम जानेका र गर्दै गरेका कामबाट मुक्त भएको थिएँ । मनमा केही थियो त स्कुल जाने भन्ने मात्र थियो ।
मनमा केही त्रास थियो । केही उत्साह थियो । जिज्ञासा थियो, स्कुल कस्तो होला ? सरहरु कस्ता होलान् ? साथीहरु कस्ता होलान् ? भरो भोक लाग्ला कि ? कसैले हेप्ला र कुट्ला कि ?
त्यस दिन बिहान आँगनमा काठेपिरा र मुडा ओछ्याइयो । मलाई काठे पिरामा राखियो । हजुरबा मुडामा बसे । उनले कपडामा बेरेर राखेको लग्गा छुरा निकाले । त्यसलाई सिलढुङ्गामा एक दिन उद्याए । पहिला आफ्नै देब्रेहातका रौँ काटिहेरे । फेरि उद्याए । विस्तारै देब्रे हातले समाएर दाहिने हातले त्यसको धार छामे । अनि मेरो टुपी समाएर कपाल काट्न थाले । उनले सफाचट पारेर कपाल काटिदिए । कपाल काटिसकेर उचालेर ऐनामा अनुहार देखाइदिए । मलाई म आफै अनौठो लागेँ । मेरो एउटा टुप्पी मात्र थियो । लामा लामा जस्ता लाग्ने कान मात्र थिए ।
कुप्रीआमाले पानी तताएर नुहाइदिइन् । जे जस्ता भएका न्याना कपडा लगाइदिइन । त्यस बेला न्याना कपडा भन्नु घरेलुका दौरा सुरुवाल हुन्थे । तिनै लगाइदिइन् । उनी पनाति स्कुल जाने कुराले खुसी थिइन् । यता र उता गरिरहेकी थिइन् ।
हजुरआमा पनि फर्ती थिइन् । उनले आज मेरो नाति स्कुल जान्छ भनेर छिटो छिटो भात पाकाइन् । पिताजी आफ्ना पाराले ठिक परे ।
आज ती अभिभावक कोही मसँग छैनन् । कुप्रीआमा छैनन् । हजुरबा छैनन् । हजुरआमा छैनन् । दिदीहरु प्नि छैनन् । आज त्यो घर, आँगन पनि मेरो छैन । ती रमाइला दिन पनि मसँग छैनन् । सम्झना भने झन् झन् गाढा र हार्दिक बनिरहे छन् । सबै पात्र, सबै परिवेश आफैभित्र घुमिरहेछन् ।
लाग्छ, म तिनका नजरका केन्द्रमा घुमिरहेछु । उनीहरु मेरो छहारी बनिरहेछन् । तिनको माया खन्याइरहेछन् । आस्था पोखिरहेछन् । यी पङ्क्ति लेखिरहँदासम्म लाग्छ ती सबै जना वरिपरि छन् । आशीर्वाद दिइरहेछन् । म फुरुङ्ग परिरहेछु । केके न जिते जस्तो । केके न पाए जस्तो ।
त्यो दिन सम्झँदा आज पनि म भावुक हुन्छु । कुनै पहिले पहिले स्कुल जान थालेका बालक देख्दा त्यस बेलाको आफै सम्झन्छु । तिनको अनुभूति र आफ्नो अनुभूति दाँज्छु ।
भवना मिलिरहेजस्तो लाग्छ । त्यो परिवेश र यो परिवेश भने फरक पाउँछ । तिनमा आफ्नै प्रतिरुप देख्दा देख्दै उनीहरुले लाएको पोसाक र जुत्तामा आँखा अड्याउँछु । अहिलेका बालकले लगाएको र आफूले स्कुल जान थालेका दिन लगाएका पोसाक तुलना गर्न थाल्छु । तिनले बोकेको झोला र आफूले उसबेला बोकेको झोलाको तुलना गर्न थाल्छु । तिनका टिफिन बट्टा पनि हेर्छु तर आफ्नो थिएन सम्झन्छु ।
कुनै कार्यक्रममा स्कुलहरुमा गइरहन्छु । स्कुल सुविधासम्पन्न होस् वा साधारण । कुनै स्कुलमा पाइला टेकेँ भने त्यही आफ्नो स्कुल सम्झिइहाल्छु । त्यसमा पनि पहिलो दिन सम्झन्छु । आफूले पढेको र आफू पुगेको स्कुल तुलना गर्न थाल्छु ।
बिहान म स्कुल हिँड्नुअगाडि घाँसमा गइसकेकी मेरी माताजी (आमा) म कस्तोा भएर स्कुल गएँ भन्ने साक्षी बस्न पाइनन् । म स्कुलजाँदा उनी भारी पुर्याएर पर्किएकी थिइनन् । भरे स्कुलबाट फर्कँदा रुँदै अँगालो हाल्न अगाडि सरेकी थिइन् । आज पनि त्यसरी नै सम्झन्छु । आज स्कुलका गेटमा पहिलो दिन बच्चा लिन पुगेकी आमा र म घर आइपुग्दा मलाई आँगालामा बेर्ने मेरी माताजी उस्तै देख्छु ।
माताजी किन रोइन् होला ? म गम्भीर भएर सोच्न थाल्छु ।
मेरी माताजी मलाई नानी भनेर बोलाउँथिन् । उनका मनमा लाग्यो होला मेरो नानी कहाँ गयो होला ? फेरि फर्किएर आउँदा लाग्यो होला अब यो पनि मलाई छोडेर हिँड्ने भयो । या लाग्यो होला, मैले पढ्न नसके पनि यसले पढ्छ । या लाग्यो होला, बिहान आशीर्वाद दिएर विदा गर्न पाइँन । या लागेको हुनुपर्छ विचरा कति भोकायो होला ? या लाग्यो होला, बरा कति थाकेर आयो । आमाको मन म कहाँ बुझूँ । भोलिपल्ट देखि स्कुल जाने कि नजाने भने जत्तिकै भएको थियो । आमा छोरा दुवै रोएका थियौँ ।
मलाई लाग्छ, त्यो दिन म गलेर आएको थिएँ । मेरो अनुहारमा त्यस्तै थाकेको, न्यास्रिएको चित्र थियो होला । त्यो चित्र अरुले भन्दा प्रष्ट माताजीले देखिन् होला । त्यो चित्रमा रङ्हरु थिएहोला– भोक लागेको, थकाइ लागेको । आँसु पसिना लतपतिएको । यस्तै केही थियो होला, जुन मेरी माताजीले मात्र बुझ्थिन् । नत्र किन रुन्थिन् । नत्र किन मलाई पनि रुवाउँथिन् ? आमाको मन पो त ।

