सेल र झिनियाको व्यापार फस्टाउँदो

कात्तिक १९, काठमाडौं ।यस वर्षको दसैँ र तिहारको अवधिमा म्याग्दी सदरमुकाम बेनीमा झिनिया र सेल रोटीको व्यापार फस्टाउँदै गएको छ । यो अवधिमा लाखौंको झिनिया र सेल रोटीको व्यापार भएको छ ।

बेनीका झिनिया उत्पादक तथा व्यापारीका अनुसार दसैँ तिहारको एक महिनाको अवधिमा एक जनाले रु एक लाख देखि रु दुई लाखको बिक्री गरेका छन् । बेनीमा झिनिया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या बीस जना भन्दा धेरै छ । उद्यमी सिर्जना श्रेष्ठले दसैं तिहारको अवधिमा सेल रोटी र झिनियाको माग अत्यधिक भएको बताए । “दैनिक पाँच सय वटासम्म सेल रोटी बिक्री भएको छ,” उजले भने “घरमा बनाउन झञ्जट हुने, बिग्रने डर र कोसेली लैजान सजिलो हुने भएकाले पछिल्लो समय तयारी सेलरोटी र झिनियाको माग बढेको छ ।”

सेलरोटी र झिनियाको साथै चिनी, फिनी, झेली, फुल रोटीको पनि उत्पादन र बिक्री वितरण हुन्छ । सेलरोटी प्रतिगोटा रु। ३०, चिनी र फिनी रोटी प्रतिगोटा रु पचासका दरले बिक्री हुने गरेको छ । झिनिया आकार अनुसार प्रतिगोटा रु दश देखि पन्ध्रमा बिक्री हुन्छ । बेनीका उद्यमीले उत्पादन गरेको झिनियाले माग धान्न नसकेपछि छिमेकी जिल्ला बागलुङबाट समेत आयात भएको उद्यमी राधा बोगटीले बताए ।

सीप भएका महिलालाई फुर्सद्को समय सदुपयोगका साथै आयआर्जनको अवसर मिलेको बोगटीले बताए। हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनिया रोटीको खपत धेरै हुनेगर्छ ।

चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई घाममा सुकाएपछि बन्ने झिनिया घ्यू, तेलमा फ्राई गरेर खानयोग्य हुन्छ । बनाउन झञ्झटिलो भए पनि झिनियाको व्यापार गर्नेको कमाइ भने राम्रो छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.