कात्तिक २२ गते बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने

वाग्मती प्रदेशसभा बैठक कात्तिक २२ गते बस्ने भएको छ। तत्कालिन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएसँगै स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक २२ गते बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

उक्त बैठकमा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए। उनका अनुसार, मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा आइतबार नै दर्ता भइसकेको छ।

मुख्यमन्त्री कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको पत्रमा कात्तिक १२ गते उल्लेख गरिएको भए पनि संसद् सचिवालयमा कात्तिक १४ गते मात्रै दर्ता भएको प्रवक्ता अमात्यले बताए।

सरकारको नेतृत्व गरेको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। सोहीअनुरुप मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री पाण्डे कात्तिक ११ गते नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

वाग्मती प्रदेशसभामा हाल १०९ सदस्य छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.