सांस्कृतिक पर्व राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदानः प्रधानमन्त्री देउवा

असोज २९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँलगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको बताएका छन्।

बडादसैँ (विजयादशमी) का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गरेका छन्। उनले भनेका छन्, “यसले हाम्रा मूल्य, मान्यता र संस्कारहरुलाई थप बलियो बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ।”

प्रधानमन्त्री देउवाले कोभिड–१९ नियन्त्रणका उपायहरुलाई प्रभावकारी बनाउँदै लगिएको भए पनि यसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दसैँ पर्व मनाउन आम नेपालीलाई आग्रह गरेका छन्। “यस समयमा बडादसैँ पर्व मनाइरहँदा स्वास्थ्यका मापदण्डहरुलाई पूर्णरूपमा पालना गर्दै आपसी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रूपमा मनाउन म सम्पूर्ण नेपालीमा विशेष अनुरोध गर्न चाहन्छु”, सन्देशमा भनिएको छ।

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा हरेक वर्ष मनाइने महान पर्व दसैँको मुख्य दिन विजयादशमीको सुखद् उपलध्यक्षमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। साथै उनले दसैँ पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् र राष्ट्रिय एकताको भावना अझ विकास गर्न सकोस् भन्ने कामना पनि गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.