दसैंकाे पाँचौं दिन आज स्कन्दमाताको पूजा आराधना गरि मनाईंदै

असोज २५, काठमाडौँ । नवरात्रको पाँचौं दिन आज स्कन्दमाताको पूजा गरिँदैछ। घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ।

हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन स्कन्दमाताको पूजा आराधना गर्छन्। घटस्थापनाका दिनदेखि सुरू भएको नवरात्रको पाँचौं दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै हो। घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा सिंचित गरिन्छ।

पाँचौं दिन स्कन्दमाताको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ। हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन्।

दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं पर्व मनाउने चलन छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.