भदौ २९, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)पार्टीमा जान पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका नेकपा एमालेका दुई सांसदले एकीकृत समाजवादी जान पाउने भएका छन् ।
प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले एकीकृत समाजवादी रोज्न पाउने आदेश जारी गरेको हो ।
“निवेदकहरु सोमप्रसाद पाण्डे र शारदा देवी भट्टले नेपाल कम्युनिट पार्टी (एकीकृत समाजवादी) दलमा आवद्ध हुनेगरी मिति २०७८ भदौ ८ गते प्रत्यर्थी निर्वाचन आयोगमा निवेदन दिने गरी रोजेको आधारमा निजहरुको सो दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारवाही नगर्नू, नगराउनू भनी प्रस्तुत निवेदन अन्तिम किनारा नलागेसम्मका लागि प्रत्यर्थीहरुका नाउँमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ । आदेशको जानकारी प्रत्यर्थीहरुलाई दिनू,” आदेशमा भनिएको छ ।

