भदौ २६, काठमाडौँ । मोबाईल इलेक्ट्रोनिक एसोसियसन अफ नेपालद्वारा नेपाल मोबाईल व्यवसायी महासंघलाई स्वागत गरेको छ ।
शनिवार महासंघका पदाधिकारीहरुलाई स्वागत कार्यक्रममा आयोजना गर्दै मोबाईल इलेक्ट्रोनिक एसोसियसन अफ नेपालले व्यवसायीहरुवीच एकअर्कामा स्वस्थ प्रतिस्पर्धाका साथ व्यवसायी गर्ने वातावरण बनाउन आग्रह गरेका छन् । मोबाईल बिक्री मूल्य र स्कीम फरक– फरक तरिकाले राख्दा उपभोक्त ग्राहकहरुमा भ्रम सिर्जना भएकोले समान मूल्य निर्धारण गर्न समन्वयात्मक भूमिका निभाउन महासंघलाई आग्रह गरे ।
कार्यक्रममा महासंघका अध्यक्ष भरत भट्टराईले व्यवसायीहरुको हकहित, अधिकार र सुरक्षाको लागि एकिकृत आवाज बुलन्द बनाउन महासंघको स्थापना गरेको जनाउँदै देशभरका मोबाईल व्यवसायीहरुको साझा समस्या सम्बोधन गर्न कुनै कसुर बाँकी नराख्ने बताए । अध्यक्ष भट्टराईले उपभोक्त हित अधिकारलाई संरक्षणलाई विशेष प्राथमिकता दिदै व्यापार व्यवसाय गर्न आग्रह गरे । साथै व्यवसायीमाथी हुने गरेको चुनौतिलाई सम्बोधन गर्न महासंघले नीति तथा कार्ययोजना तयार गरी सरकारी निकायसम्म कार्यन्वयनका लागि पहल गर्ने उनले बताए ।

त्यस्तै महासंघका महासचिव रमेश घिमिरेले पनि महासंघ राष्ट्रिय स्तरको छाता संगठन भएकोले देशभरीकै मोबाईल व्यवसायीहरुलाई संगठित गर्दै लाने बताए । महासचिव घिमिरेले व्यवसायीहरुको हितअनुरुप कानुन निर्माण गर्न समन्वयको भूमिका खेल्ने बताए । उनले मोबाई बिक्रेताहरुलाई पनि मूल्य तथा स्किममा एक रुपता ल्याउने प्रयास गरिरहेको बताए । स्वागत कार्यक्रममा मोबाईल इलेक्ट्रोनिक एसोसियसन अफ नेपालका सचिव सुशिल लामाले मोबाईल व्यवसायीहरुलाई अभिमूखीकरण तालिमपछि मात्र व्यवसाय गर्नुपर्ने धारणा राखे । कतिपय मोबाईल किनबेचमा समस्या आईरहेको बताउँदै चोरीमा परेका समान नबुझि खरिद गर्दा व्यवसायीलाई प्रहरीले दुःख दिने गरेको बताए । व्यवसाय थालनी गर्दा राजस्व सम्बन्धि ज्ञान हुनुपर्ने, कम्पनी दर्ता लगायत ग्राहकसंगको सम्बन्ध सुमधुर हुनुपर्ने विचार व्यक्त गरे ।
मोबाईल इलेक्ट्रोनिक एसोसियसन अफ नेपालका संस्थापक अध्यक्ष दिल्ली लामाले सञ्चालन गरेको कार्यक्रममा मोबाईल व्यवसायीहरुलाई आईपर्ने चुनौति र समाधानका पाटोमा महासंघले गर्नुपर्ने भूमिकाबारे चर्चा भएको थियो ।

