भदौ १७, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा पूर्व बैंकर विश्वमोहन अधिकारी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका अधिकारीलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
खुला प्रतिस्पार्धाका आधारमा अधिकारीसँगै दोस्रो नम्बरमा काभ्रेका शिवजी साप्कोटाको नाम सिफारिस भएकोमा सरकारले अधिकारीलाई नियुक्त गरेको हो । विभिन्न बैंकमा गरेर २५ वर्ष काम गरेका अधिकारीले तत्कालीन सिटी विकास बैंकका साथै सिटी विकास बैंक र ओम फाइनान्स मिलेर बनेको ओम डेभलपमेन्ट बैंकमा गरी १५ वर्ष प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए । बैंकरका साथै उनी कलेजका प्राध्यापक पनि हुन् । उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रिय बहुमुखी क्याम्पसमा इन्टरपेनरसिप र बैकिङ विषयमा अध्यापन गराउँछन् । उनले एमबीए र बीएड गरेका छन् ।

