काठमाडौं । भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको छ । भोलि बिहान ६ बजेदेखि काठमाडौं महानगरसहित उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर उठाइने भएको हो ।
आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलगायत अधिकारीकोे बैठकले यस्तो निर्णय गरेको हो ।
सडक भत्किएपछि साइटमा फोहोर लैजान कठिनाइ भइरहेका बेला भदौ ६ गते ककनी गाउँपालिका वडा १ की एकजना ७० वर्षीया वृद्धाको मृत्यु भयो । उनको मृत्यु हैजाको कारण भएको जनाउँदै स्थानीयले भदौ १० गतेदेखि साइटमा फोहोर लैजान अवरोध गर्दै आएका छन् ।
हैजाको एकिन गर्न महानगरबाट सम्भावित क्षेत्रका ५ जना व्यक्तिको दिसा र ४ वटा परिवारले पिउने गरेको पानीको नमुना सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराइसकेको छ । प्रयोगशालाबाट प्राप्त रिपोर्टले त्यस क्षेत्रमा हैजाका जीवाणु नभेटिएको देखाएको छ ।
‘‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,” महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘‘स्थानीय समस्या समाधान गर्ने काम निरन्तर हुनेछ । हामीले समाधान गर्न नसक्ने समस्या भए सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्छौैँ । तर, लामो समयसम्म फोहोर रोकेर समस्या बढाउने काम हुँदैन । स्थानीय जीवन र वातावरणलाई असर नपार्ने गरी भोलिदेखि फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापनको काम नियमित हुनेछ । हामी स्थानीयले उठाएका जायज माग पूरा गर्न तयार छौँ ।”
बैठकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले, फोहोर व्यवस्थापन कार्य अत्यावश्यक सेवा भएकोले अवरोध नहुने बताए । उनले फोहोर व्यवस्थापनमा सुरक्षा चुनौती देखिएमा गृह प्रशासनले समन्वय गरेर सुरक्षा व्यवस्था मिलाउने बताए ।
“अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्नुपर्ने हुन सक्छ । स्थानीय विषयलाई समन्वय र सम्बोधन गर्ने काम काठमाडौँ महानगरले गरिरहेको छ । समस्याको समाधान छलफलबाटै हुने भएकोले बल प्रयोग गर्नुपर्ने अवस्था आउन नदिन सबै सजग हुनुपर्छ । समन्वय गर्दा वा सम्झाइ–बुझाइ गर्दा पनि भएन भने बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्नैपर्ने हुन्छ,” उनले भने ।
यस्तै, बैठकले सिसडोल साइटमा पुग्ने सडक बनाउन महानगर र सडक विभागले सहकार्य गर्ने, गृह प्रशासनले शान्ति सुरक्षाको प्रबन्ध मिलाउने लगायतका निर्णय गरेको छ ।
फोहोर व्यवस्थापनका विषयमा सोमबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सहजीकरणका लागि आग्रह गरेका थिए ।

