माधव नेपाल दोस्रो पुस्तालाई नेतृत्त्व हस्तान्तरण गर्न तयार

भदौ १२, काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आह्वान गरेका छन् ।

पार्टी विभाजनपछि आफूहरूलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरू पार्टीमा आए नेतृत्त्व छोड्न तयार रहेको घोषणा समेत उनले गरे ।आफ्नो पार्टीनिकट पेसागत महासंघ, नेपाल वाग्मती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले पदका लागि कहिल्यै पनि लडाइँ नगरेको पटक–पटक दोहोर्‍याए । “आउनुहोस्, दोस्रो पुस्तालाई नेतृत्त्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भइहाल्छु । अनि, केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु, भएन ? पदको लडाइँ होइन यो,” उनले भने, “विचारको लडाइँ हो यो । सिद्धान्तको लडाइँ हो यो । मूल्य र मान्यताको लडाइँ हो यो ।”

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी गठन गर्नुपरेको उनले तर्क गरे । आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । “खाली कुप्रचारबाहेक केही पनि छैन । यस्ता झुटा प्रचारको भ्रममा कोही पनि नपर्नुहोस्,” उनले भने, “उनीहरूको काम नै गोयबल्स शैलीको प्रचार गर्ने हो । मान्छेको चरित्र हत्या गर्ने प्रवृत्ति हो । यस्ता प्रवृत्ति भएका मान्छेहरू इमानदार, क्रान्तिकारी कम्युनिस्ट हुन सक्छन् ?”

अध्यक्ष नेपालले समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भई काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको पनि बताए । सो अभियानमा पदलोलुप नभई काम गर्न उनले पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.