शिक्षक सरुवालाई निरुत्साहित, जिल्लाभित्रका सरुवा खुल्ला

साउन ३१, काठमाडौं । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शिक्षक सरुवालाई निरुत्साहित गरिएको बताएको छ । रिक्त रहेको स्थानमा पहिलो प्राथमिकता खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापनबाट आउने शिक्षकलाई दिने योजना अन्तर्गत तत्कालको लागि सरुवा रोकिएको हो ।

केन्द्रका महानिर्देशक बाबुराम पौडेलले सरुवालाई निरुत्साहित गर्ने नीति नै रहेको बताउँदै भने, “जुन पदमा विज्ञापन भएको हो त्यो पद कुनैपनि हालतमा सरुवा गरेर ल्याउन पाइँदैन ।” उनले सकेसम्म जिल्लान्तर सरुवा नगर्ने र रिक्त भएको ठाउँमा भर्ना गर्न अनुमति तुरुन्त दिने भनेको बताए । तर सरुवा गरेर जिल्लान्तर ल्याउने कार्य तत्कालको लागि पूरै रोक्न सबै सरोकारवालालाई भनेको उनले जानकारी दिए । “स्थायी शिक्षक पोस्टिङ गर्दा अस्थायी शिक्षकलाई तुरुन्त हटाउनु पर्ने र फेरि तिनको पुनस्र्थापनाको समस्या विगत धेरै वर्षदेखि हामी झेल्दै आएका छौं,” उनले भने ।

महानिर्देशक पौडेलले बीचमा सरुवा पूरै रोकेर अहिले सरुवा सशर्त खोलेको बताए । उनले भने, “विज्ञापन त भइसकेको छ, भोलि त्यो विज्ञापन भएको पदमा स्थायी शिक्षक सिफरिस भएर आएपछि हामीले पोस्टिङ गर्नैपर्ने हुन्छ । एक पटक शिक्षकलाई अस्थायी नियुक्ति गरिसकेपछि पुनः तत्काल हटाउने कुरा गाह्रो छ ।”  शिक्षक सेवा आयोगका प्रवक्ता दामोदर आचार्यले सरुवा र बढुवाको काम केन्द्रले गर्ने बताउँदै भने, “हामीले ७५ जिल्लाबाटै पदपूर्ति विज्ञापन गरेका छौं । अहिले सरुवा गर्दा परीक्षाबाट आएका स्थाइ शिक्षकहरुलाई पछि पोस्टिङ गर्न समस्या हुन सक्छ ।” केन्द्रका महानिर्देशक पौडेलले यकिन दरबन्दी र आवश्यकताको विषय बोल्न नचाहे पनि स्रोतले झण्डै ५० हजारको संख्यामा देशभरमै शिक्षकको आवश्यकता रहेको जानकारी दिए । केन्द्रले दरबन्दी पुनर्वितरण कार्यदल पनि गठन गरेको छ । महानिर्देशक पौडेलले कार्यदल मार्फत काम भइरकोे बताउँदै भने, “त्यसको सुझाव आएपछि अरु मिलनाका काम पनि अगाडि बढ्नेछ ।”

जिल्लाभित्रका सरुवा खुल्ला
शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक पौडेलले जिल्लान्तर सरुवा तत्कालको लागि रोकिएपनि जिल्लाभित्र सरुवा गरेर जाने कुरालाई पूरै खुल्ला गरेको बताए । उनले भने, “सम्पूर्ण जिल्लाको दरबन्दी स्वीकृत छ र त्यति नै पद विज्ञापन भएको छ त्यसैले यो विद्यालयको मान्छे त्यो विद्यालयमा जानेछन् भने भोलि त्यहाँ पोस्टिङ गर्न समस्या हुने छैन भनेर जिल्ला भित्रका सरुवा नरोकिएको हो ।”

स्थायीको नतिजपछि मात्रै सबै प्रकारका सरुवा खुल्ला
केन्द्रका महानिर्देशक पौडेलले जुन तहमा विज्ञापन गरिसकेपछिको अवस्थामा पद खाली भएको हो, त्यो पदपूर्ति गर्न केन्द्रले नरोकेको बताए । “विज्ञापन भइसकेपछि रिक्त भएको स्थानमा स्थायी शिक्षक तत्कालै नआउने हुनाले खाली ठाउँमा विद्यार्थीको पढाइ रोकिनु हुन्न, आजै हुनुपर्छ भनेर पदपूर्ति गर्न निर्देशन दिइएको हो,” उनले भने । उनले स्थायीको नतिजा प्रकाशन भएपछि पूर्ण अथवा सबै प्रकारका सरुवा खोलिने जानकारी दिए ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.