१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक

भदौ २, काठमाडौँ । माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो।

पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ (असोज १५ देखि २७) सम्म आयोजना हुनेछ। नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ३ (असोज १७) मा खेल्नेछ। नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर ८ (असोज २२) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १० (असोज २४) मा खेल्नेछ।

प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १३ (असोज २७) मा प्रतिस्पर्धा गर्नेछन्। साफ च्याम्पियनसिपको लागि नेपालले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा पोखरामा तयारी गरिरहेको छ। बन्द प्रशिक्षणमा २८ खेलाडी रहेका छन्। साफ च्याम्पियनसिप अघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.