साउन ३१, काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने भएको छ । सिंहदरबार भित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या बढेपछि एकद्वार प्रणाली मार्फत सिंहदरबार प्रवेश गर्ने व्यवस्था गर्न लागिएको हो ।
सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भने पनि हाल दैनिक २ हजार ५ सय भन्दा बढी नागरिक विभिन्न काम लिएर सिंहदरबार प्रवेश गर्ने गरेको प्रहरीको तथ्यांक छ । सिंहदरबारको चारवटै गेटमा डिजिटल गेट निर्माण गर्ने गृह मन्त्रालय अन्तर्गत रहेको सिंहदरबार सुरक्षा समन्वय समितिले गृहकार्य अगाडि बढाएको छ ।
सिंहदरबारमा रहेको चारवटा गेट मध्ये दक्षिण गेट मात्र हाल सर्वसाधारणका लागि खुला गरिएको छ । दक्षिण गेटमा सिंहदरबार प्रवेश गर्नेको भीड लाग्ने गरेको छ । स्थानीय र प्रदेश सरकार गठन भएर सञ्चालनमा आए पनि सिंहदरबार प्रवेशमा भने सर्वसाधारणको भीड कम हुन सकेको छैन ।
सिंहदरबार सुरक्षा समन्वय समितिले चारवटै गेटमा डिजिटल गेट निर्माण गर्ने, एकद्वार प्रणालीबाट प्रवेश पास वितरण गर्ने र आवश्यक मानिस मात्र प्रवेश गर्ने गरी व्यवस्थापन गर्न लागेको हो । सिंहदरवार भित्र हाल प्रधानमन्त्री कार्यालयमा डिजिटल गेट सञ्चालनमा ल्याइएको छ । सिंहदरबारलाई प्रविधिमैत्री र सुरक्षित बनाउनका लागि समन्वय समितिले गेटमा ब्यागेज एक्सरे मेसिन जडान गर्ने, गाडी चेक गर्न भेइकल स्क्यानर भेकल मिरर जडान गर्ने तयारी गरेको छ ।
–नेपाल समाचारपत्र