साउन १५, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य भीम रावलले एमसीसी सम्झौता प्रतिनिधिसभामा पेश गर्न माग गर्नुभएको छ ।
शुक्रबार बसेको प्रतिनिसभाको बैठकमा बोल्दै सांसद् रावलले एमसीसीको मुल सम्झौता र अन्य सहायक सम्झौताहरूको विषयमा नेपाली जनताले जान्न आवश्यक हुने भएकाले प्रतिनिधिसभामा पेश गर्न माग गर्नुभएको हो । ‘एमसीसी सम्झौता तत्काल प्रतिनिधिसभा बैठकमा पेश गरियोस्,’ उहाँले भन्नुभयो, ‘त्यसभित्र भएका राम्रा र नराम्रा विषयका बारेमा नेपाली जनताले जान्न पाउनुपर्छ, हरेक सांसद्ले त्यसको विषयमा जान्नु आवश्यक छ ।’
एमसीसीमा नेपाली जनताको स्वाधिनता र स्वाभिमानमाथि प्रहार भएको बताउँदै रावलले बुँदा(बुँदामा छलफल गर्दै संशोधन गरेर मात्रै त्यसलाई पास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको स्वाधिनता र स्वाभिमान खिलाप हुने कुनै पनि बुँदा र प्रावधान छन्, त्यसलाई संशोधन गर्नुपर्छ ।’

